‘शिक्षा र सीप जोड्न सके मात्र रोजगारीको बाटो खुल्छ’ – अध्यक्ष कुँवर
काठमाडौं । नेपाल ट्रेड युनियन कांग्रेसका अध्यक्ष योगेन्द्र कुँवरले श्रमिकहरूको क्षमता विकासका लागि सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष कुँवरले श्रमिकहरू स्वदेश वा विदेश जहाँ गए पनि आत्मनिर्भर बन्न सक्ने गरी क्षमता अभिवृद्धिमा जोड दिनुपर्ने बताए । उनका अनुसार क्षमता अभिवृद्धि र सीप विकास बिना दिगो रोजगारी सम्भव छैन ।
उनले शिक्षालाई सीप र रोजगारीसँग जोड्नुपर्ने आवश्यकता औंल्याउँदै भने, ‘रोजगारीको वातावरण बनाउन श्रमिकलाई सीपयुक्त बनाउनु अत्यावश्यक छ । उनीहरूलाई आवश्यक तालिम र अवसर प्रदान गर्न सके देशभित्रै रोजगारी सिर्जना गर्न सकिन्छ।’




अध्यक्ष कुँवरले सरकारलाई रोजगारीलाई उद्यमशीलतासँग जोड्ने नीतिगत प्रयास गर्न आग्रह गर्दै थपे, ‘अहिलेको शिक्षा प्रणाली व्यवहारिक हुन सकेको छैन । १५ वर्षसम्म पढेपछि पनि कामका लागि ६ महिनाको तालिम लिनुपर्छ । त्यसैले अब शिक्षालाई सीपसँग जोड्नैपर्छ, जसका लागि सरकार, निजी क्षेत्र र ट्रेड युनियन सबैले मिलेर पहल गर्नुपर्छ।’
उनले निष्कर्षमा भने, ‘शिक्षा र सीपबीचको सम्बन्ध बलियो बनाउन सके मात्र श्रमिकहरू सक्षम, आत्मनिर्भर र प्रतिस्पर्धी बन्न सक्छन् ।’


Facebook Comment