‘इगोयुक्त पत्रकारिताका कारण हिल्टन होटल जले’ — चलचित्र बोर्ड अध्यक्ष दाहाल
काठमाडौं । नेपाल चलचित्र बोर्डका अध्यक्ष दिनेशराज दाहालले हालै भएको ‘जेन–जी आन्दोलन’का कारण हिल्टन होटलमा भएको आगलागीको मुख्य कारण पत्रकारिताको गैरजिम्मेवार अभ्यास भएको दाबी गरेका छन्।
राजधानीमा शनिबार चलचित्र पत्रकार संघले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले इगोयुक्त पत्रकारिताले देश र समाजमा नकारात्मक असर पारिरहेको टिप्पणी गरे।
उनले भने, ‘हिल्टन होटल किन जल्यो भन्ने कुरा बुझ्न जरुरी छ। अरु होटलहरू नजलेर हिल्टन किन जल्यो? पत्रकारितामा इगो राखेर लेख्दा त्यस्तो भयो। देशलाई घाटा भयो, पर्यटन क्षेत्रमा ठुलो असर पर्यो। तर लगानीकर्तालाई भने घाटा भएन, उसले इन्सोरेन्सबाट ७ अर्ब पाइसक्यो, झन् डेढ अर्ब नाफा समेत भयो।’
दाहालका अनुसार, हिल्टन होटलमा लागेको आगलागीले नेपालको पर्यटन छविलाई क्षति पुर्याए पनि त्यसले लगानीकर्तालाई आर्थिक लाभ दिलाएको छ। उनले पत्रकारहरूलाई संयमित भएर जिम्मेवार पत्रकारिता गर्न आग्रह गर्दै भने, ‘इगो बोकेर गरिएको पत्रकारिताले समाजलाई फाइदा होइन, क्षति मात्र पुर्याउँछ।’
दाहालले अन्त्यमा सबै सञ्चारकर्मीलाई तथ्य, सन्तुलन र सकारात्मक दृष्टिकोणका साथ समाचार सम्प्रेषण गर्न सुझाव दिए।


Facebook Comment