‘गल्ती प्रतिक्रियावादी गर्छन्, गाली आफ्नै पार्टीलाई’ – ओलीको टिप्पणी
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बलिया हुनुपर्ने कम्युनिष्ट पार्टी सारै सेन्टिमेन्टल देखेको टिप्पणी गरेका छन् ।
शुक्रबार पार्टीको केन्द्रीय शिक्षा तथा मानवस्रोत विभागले आयोजना गरेको विद्वत वर्गसँगको अन्तरसंवाद कार्यक्रममा पार्टी र विचार परिपक्व हुनुपर्ने दावी गरे ।
उनले भने, ‘कम्युनिष्टहरू बलिया हुनुपर्ने, झन सेन्टिमेन्टल भएको देखेँ यो पाली । कुनै एक प्रतिक्रियावादीले छिसिक्क केही गरे कोही संस्था छोड्ने, कोही पार्टी छोड्ने, कोही नेतालाई गाली गर्ने परिपार्टी बढेको छ ।’
ओलीले अरुले गरेको गल्तीको दोष पार्टी र नेतृत्वलाई नजाने बताए । कार्यक्रममा ओलीले भने, ‘गल्ती र बदमासी गर्छन् प्रतिक्रियावादीले अनि गाली गर्छन आफ्नो पार्टीलाई छोड्छन् आफ्नो राजनीति, छोड्छन् आफ्नो विचार, दर्शन । यत्ति सारो सेन्टिमेन्टल नहुनुपर्थ्यो भए किन हो थाहा छैन ।’

अहिले पार्टी भित्र भएको विचारको विचलनलाई अल्मुनियमसँग तुलना गर्दै यतिबेला कम्युनिष्ट विचार बोक्ने पातलो अल्मुनियम जस्तै भएको टिप्पणी गरे । अध्यक्ष ओलीले भने, ‘यस्तो साह्रो तात्ने र सेलाउने त अल्मुनियम पनि हुँदैन । पातलो अल्मुनियम जस्तो छिट्टै तात्ने छिट्टै सेलाउने । हामी हुनुहुँदैन । हामी एउटा महान उद्देश्य लिएर जन्मिएका हौँ ।’
ओलीले कम्युनिष्ट आन्दोलन महान उद्देश्यका साथ स्थापित भएको भन्दै उद्देश्यबाट विचलित हुने छुट एमालेलाई नरहेको बताए । उनले भने, ‘हाम्रो आन्दोलन हाम्रो पार्टी महान उद्देश्य र आन्दोलन लिएर जन्मिएको हो । व्यक्ति त्यसमा लाग्यो भने महान उद्देश्य अनुसार अघि बढ्छ । लागेन भने नहुन पनि सक्छ । तर आन्दोलन महान उद्देश्य लिएर नै जन्मिएको हो ।’



Facebook Comment