लगातार दर्शकको मन जित्दै परान, छैटौ दिनमा ४० हलका सय सोमा चल्दै

काठमाडौं । शुक्रबारदेखि प्रदर्शनमा आएको नेपाली कथानक चलचित्र परान दर्शकमाझ प्रिय बन्दै गएको छ । परानले हेर्ने दर्शकबाट सुखद प्रतिक्रिया प्राप्त गरिरहेको छ भने हल पुग्ने दर्शकलाई पनि तानिरहेको छ । प्रदर्शनको ६ दिनमा आइसक्दा परान ४० हलका १०० सोमा चल्दैछ ।

मर्मस्पर्शी पारिवारिक कथा पेस गर्ने फिल्म हेरेर दर्शक भक्कानिएको भिडियोहरू सामाजिक सञ्जालमा सेयर भैरहेका छन् । हेरेकाले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् ।

टिभी श्रृंखला ‘सक्किगो नि’मा ‘काकु’ नामको पात्रमार्फत चिनिएका दीपकप्रसाद आचार्यको डेब्यू निर्देशन रहेको फिल्मले आफ्नो कथावस्तु, अभिनय र प्रस्तुतिको कारण प्रशंसा बटुलेको छ ।

प्रतिक्रिया जनाउने क्रममा डेब्यू निर्देशनमै उत्कृष्ट काम देखिएको दर्शकको भनाइ छ । केन्द्रीय भूमिकामा रहेका नीर शाहको कामलाई पनि उत्तिकै मनपराइएको छ । अन्य कलाकारले पनि आफ्नो कामका लागि प्रशंसा बटुलेका छन् ।

रिलिजको अघिल्लो दिन भएको प्रिमियरमा पनि कलाकार, व्यवसायीका साथमा पत्रकार तथा सम्पादकले फिल्मलाई नेपाली माटो, समाज र हरेक नेपाली घरको भावना समेटेको फिल्मको रूपमा प्रशंसा गरेका थिए ।

उद्योगपति शेखर गोल्छाको प्रिज्मा एडभर्टाइजिङका प्रमुख रञ्जित आचार्यसँगको सह-स्वामित्वमा रहेको बाइस्कोप सिनेमाजको ब्यानरमा फिल्म निर्माण भएको हो ।

सुरुवाती दिनमा अपेक्षाभन्दा न्यून ओपनिङ गरेपनि सप्ताहन्तपछिका दिनमा भने अकुपेन्सीमा वृद्धि भएको देखिन्छ । सोमबारदेखि फिल्मले पिकअप लिएकोले निर्माण पक्षसमेत हौसिएको छ ।

हल संख्या समेत बढेको निर्माताले जनाएका छन् । दर्शकले कथा र प्रस्तुतिलाई मनपराएका छन् । कथावाचनको लयले दर्शकलाई भावनात्मक रूपमा बाँध्दै लगेर कहिले हसाउँछ, कहिले सोचमग्न बनाउँछ, कहिले नोस्टाल्जिक बनाउँदै भक्कानिनेसम्म बनाउँछ ।

आफू जन्मिएको, हुर्किएको ठाउँभन्दा पर पुगेकालाई यसले अझ भावनात्मक बनाउने काम गरेको छ ।

यसले परिवारको अर्थ, बाबुछोराको सम्बन्ध, पूँजीवादले खलबलिएका नेपाली परिवार, दुई पुस्ताबीच सोच र सपनाले उत्पन्न हुने परिस्थितिका द्वन्द्वका कुरालाई फिल्ममा समेटिएको छ ।

फिल्ममा नीर शाह, पूजा चन्द, मदनकृष्ठ श्रेष्ठ, केकी अधिकारी, अञ्जना बराइली, प्रवीण खतिवडा, महेश त्रिपाठी, बुद्धि तामाङको शीर्ष अभिनय छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *