दक्षिण कोरियामा आज ट्रम्प र सी जिनपिङबीच भेट : व्यापार युद्ध अन्त्यतर्फको संकेत
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच आज दक्षिण कोरियाको बुसान शहरमा महत्वपूर्ण भेटवार्ता हुँदैछ । दुई देशबीच लामो समयदेखि चर्किएको व्यापार युद्धबीच हुने यो भेटले विश्वको ध्यान तानेको छ ।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार भेट स्थानीय समयअनुसार बिहान ११ बजे सुरु हुनेछ । यता, चिनियाँ विदेश मन्त्रालयले पनि भेटवार्ताको समय र स्थान पुष्टि गर्दै “दुई नेताबीच द्विपक्षीय सम्बन्ध र आपसी हितका विषयमा गहन छलफल हुनेछ” भनेको छ ।
यो भेटअघि मलेसियामा दुई देशका उच्च अधिकारीबीच भएको वार्ताले व्यापार सम्झौताको प्रारम्भिक ढाँचा तय गरेको बताइएको छ । त्यसैले आजको भेटलाई सम्भावित व्यापारिक सहमतिको आधारशिला मानिएको छ ।
ट्रम्प र सी दुवै एशिया प्यासेफिक इकोनोमिक कोअपरेशन (एपेक) शिखर सम्मेलनमा सहभागी हुन दक्षिण कोरियाको ग्यांग्झू पुग्दैछन् । सम्मेलन सुरु हुनु अघि नै हुने यो भेट व्यापार युद्ध अन्त्यका दृष्टिले निर्णायक हुने विश्लेषण गरिएको छ ।
समाचार संस्था रोयटर्स का अनुसार, भेटअघि चीनको सरकारी स्वामित्वको कम्पनी कोफ्कोले अमेरिकाबाट तीन खेप सोयाबिन खरिद गरेको छ — जुन यस वर्षको पहिलो ठूलो अमेरिकी कृषि खरिद हो । यस कदमलाई चीनको ‘सकारात्मक संकेत’ का रूपमा हेरिएको छ ।
गत केही वर्षदेखि अमेरिकाले चीनका सामानमा उच्च शुल्क लगाएको र चीनले पनि प्रतिशोधस्वरूप अमेरिकी वस्तु आयात घटाएको कारण अमेरिकी किसानहरूलाई अरबौँ डलर बराबरको क्षति भएको बताइन्छ ।
आजको भेटवार्ताबाट व्यापारिक सम्बन्धमा सुधार र द्विपक्षीय सहकार्यका नयाँ मार्ग खुल्ने अपेक्षा गरिएको छ ।


Facebook Comment