शेरधन राईको चेतावनी : ‘असंवैधानिक सरकारविरुद्ध आन्दोलनको आँधीबेहरी उठ्नेछ’

काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य तथा कोशी प्रदेश इन्चार्ज शेरधन राईले असंवैधानिक सरकारविरुद्ध देशभर आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिएका छन् ।

बुधबार विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै राईले कार्तिक २५ गतेसम्म पार्टीले आन्तरिक तयारी पूरा गर्ने र त्यसपछि विराटनगरसहित सम्पूर्ण कोशी प्रदेशमा ठूला आन्दोलनका कार्यक्रम सुरु गर्ने जानकारी दिए ।

उनले भने, ‘कार्तिक २५ गतेदेखि एमालेका २३ वटै भातृसंगठनहरूलाई सडकमा उतार्नेछौं । जबसम्म यो प्रतिगमनकारी सरकार हट्दैन, हाम्रो आन्दोलन जारी रहनेछ ।’

राईले हालको सरकारले निर्वाचन गराउन असमर्थ भएको आरोप लगाउँदै ‘हुँदैन भन्ने चुनावमा एमाले कहिल्यै नअलमलिने’ स्पष्ट सन्देश दिए ।

त्यस क्रममा उनले २०४६ सालदेखि लाभका पदमा बसेकाहरूको सम्पत्ति छानबिन गर्न एमाले पूर्णतः तयार रहेको बताउँदै छानबिन आफूबाटै सुरु गर्न आग्रह गरे ।
उनका शब्दमा, ‘संघीय मन्त्रीदेखि कोशी प्रदेशको मुख्यमन्त्रीसम्म बनिसकेको व्यक्ति म नै हुँ, त्यसैले सम्पत्ति छानबिन मबाटै सुरु होस् भन्ने आग्रह गर्दछु ।’

राईले भदौ २३ र २४ गतेका घटनालाई ‘लामो तयारीपछि गरिएको सुनियोजित आक्रमण’ भनेका छन् । उनका अनुसार विद्यार्थीहरूलाई अगाडि देखाएर नियोजित रूपमा देश र लोकतन्त्रमाथि हमला गरिएको हो ।

उनले ती घटनाबारे निष्पक्ष छानबिनका लागि नयाँ आयोग गठन गर्न माग गर्दै भने, ‘अहिले सरकारले बनाएको आयोग निष्पक्ष छैन । त्यसैले एमालेले त्यस आयोगलाई मान्यता दिने छैन ।’

राईको भनाइअनुसार, एमाले अब प्रतिगमन र असंवैधानिक अभ्यासविरुद्ध निर्णायक आन्दोलनमा उत्रने तयारीमा छ, जसको सुरुवात कोशी प्रदेशबाटै हुनेछ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *