वर्षा र हिमपातले ‘कबड्डी ५’को छायांकन रोकियो

मुस्ताङ । लगातारको वर्षा र हिमपातका कारण मुस्ताङमा भैरहेको बहुप्रतिक्षित नेपाली फिल्म ‘कबड्डी ५’ को छायांकन अवरुद्ध भएको छ ।

कार्यकारी निर्माता मणिराम पोखरेलका अनुसार मंगलबारदेखिको सम्पूर्ण छायांकन तालिका रोकिएको हो । उनले भने, “हामी अहिले मौसम सुधारको पर्खाइमा छौं, स्थिति सामान्य हुनासाथ पुनः सुटिङ सुरु गर्ने योजना छ।”

फिल्मको छायांकन तल्लो मुस्ताङको लार्जुङ क्षेत्रमा भैरहेको थियो । पोखरेलका अनुसार, उक्त क्षेत्रमा अहिले हिमपातभन्दा पनि लगातार वर्षा भइरहेको छ ।

जिल्ला प्रशासन कार्यालय मुस्ताङले पनि वर्षा र हिमपात बढ्ने सम्भावनाका कारण सतर्कता अपनाउन र अनावश्यक पदयात्रा नगर्न सुझाव दिएको छ । प्रशासनको सूचनालाई पालना गर्दै निर्माण टोलीले काम रोकेको जनाएको छ ।

मौसमका कारण निर्माण टोली दबाबमा परेको छ, किनभने फिल्म ‘कबड्डी ५’ को कलाकार र निर्माता अर्को साता काठमाडौं फर्केर ‘जारी २’ को प्रचार–प्रसारमा सहभागी हुने तयारीमा छन् । त्यसअघि छायांकन सकाउनुपर्ने भएकाले टोली समयसँग प्रतिस्पर्धामा छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार, बंगालको खाडीमा सक्रिय मोन्था चक्रवात शक्तिशाली बन्दै नेपालमा वर्षा र हिमपात गराइरहेको छ । विभागले शुक्रबारसम्म देशका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात जारी रहने अनुमान गरेको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *