राष्ट्रमाथि खडा चुनौती सामना गर्न अध्यक्ष ओलीको आह्वान
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रमाथि खडा भएका चुनौतीहरूलाई सामना गर्न सबै नेपालीलाई एकताबद्ध हुन आह्वान गरेका छन् ।
नेपाल संवत् ११४६ को अवसरमा बुधबार जारी शुभकामना सन्देशमार्फत उनले सांस्कृतिक विविधता र मौलिकताको रक्षा गर्दै राष्ट्रिय एकतालाई बलियो बनाउनुपर्ने बताएका छन् ।
‘हाम्रो सांस्कृतिक विविधता र मौलिकताको रक्षा गरेर हामीले राष्ट्रिय एकतालाई बलियो बनाउनु पर्छ,’ ओलीले सन्देशमा भनेका छन्, ‘राष्ट्रिय स्वाधीनता र राष्ट्रको हितमा एकताबद्ध नेपाली हाम्रो शक्ति हो । विविधतालाई भिन्नतामा होइन, सार्थक एकतामा बदलौं र सद्भावको सुगन्ध फैलाऔं । राष्ट्रमाथि खडा गरिएको चुनौतीलाई सामना गरौं ।’
ओलीले नेपाल संवतको ऐतिहासिक महत्त्व स्मरण गर्दै सबै नेपालीबीच आपसी सद्भाव, एकता र समृद्धिको कामना गरेका छन् ।
Facebook Comment