एमाले महासचिव पोखरेल भन्छन्: केही मन्त्रीको व्यवहार नियन्त्रणमा लिनुपर्ने
काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारका केही मन्त्रीहरूको व्यवहार नियन्त्रणमा लिनुपर्ने बताएका छन् ।
बुधबार प्रधानमन्त्री सुशीला कार्कीले बोलाएको सर्वदलीय बैठकमा सहभागी भएपछि पार्टीको औपचारिक धारणा सार्वजनिक गर्दै पोखरेलले यस्तो बताएका हुन् ।
सामाजिक सञ्जालमार्फत सार्वजनिक गरिएको वक्तव्यमा उनले सरकारलाई राजनीतिक दलहरूसँग संवाद र सहकार्यको वातावरण सुनिश्चित गर्न आग्रह गरेका छन् । ‘मुख्य दलहरूलाई निषेध गरेर गरिने निर्वाचनले राजनीतिक वैधता पाउन सक्दैन,’ पोखरेलले भनेका छन्, ‘राजनीतिक दलका नेताहरूको क्रियाशीलतामा अवरोध गर्ने प्रवृत्तिको प्रतिवाद सरकारतर्फबाट हुनुपर्छ ।’
उनका अनुसार केही समूहहरू समानान्तर सत्ता सञ्चालनजस्ता गतिविधिमा संलग्न देखिएका छन् । ‘यस्ता अवस्थाको नियन्त्रण अनिवार्य छ,’ उनले भने, ‘तर अहिलेका केही मन्त्रीहरूले त्यसको विपरीत व्यवहार गरिरहेका छन्, जसमा तत्काल नियन्त्रण आवश्यक छ ।’
पोखरेलले निष्पक्ष, सहभागी र विश्वसनीय निर्वाचनका लागि सबै राजनीतिक दलबीच संवाद र विश्वासको वातावरण निर्माण गर्न सरकार जिम्मेवार हुनुपर्नेमा जोड दिएका छन् ।
Facebook Comment