निर्वाचनमा सहकार्य गर्न प्रधानमन्त्री कार्कीको अपिल
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचनमा सबै पक्षको सहकार्यको अपिल गरेकी छिन् ।
नेपाल संवत् ११४६ को अवसरमा ललितपुरको मंगलबजारमा आयोजित समारोहलाई सम्बोधन गर्दै उनले लोकतान्त्रिक सबलीकरण, आर्थिक समृद्धि र नागरिक अधिकारको संरक्षणका लागि मताधिकारको प्रयोग अत्यावश्यक रहेको बताइन् ।
‘सरकार नेपालको संविधानको अधीनमा रही सुशासनको आवाजलाई सम्बोधन गर्न प्रतिबद्ध छ,’ प्रधानमन्त्री कार्कीले भनिन्, ‘यसका लागि समाजका सबै तह, तप्का र समुदायको उत्तिकै भूमिका हुन्छ । आउनुहोस्, यसमा सहकार्य गरौं र सचेत नागरिकको भूमिका निर्वाह गरौं ।’
उनले सरकार आगामी निर्वाचनमा भयरहित वातावरण सुनिश्चित गर्न कटिबद्ध रहेको समेत बताइन् । साथै, सबै राजनीतिक दल, वर्ग र समूहको साथ–सहयोग रहने विश्वास समेत व्यक्त गरिन् ।
कार्यक्रममा प्रधानमन्त्री कार्कीले राष्ट्रिय विभूति शंखधर साख्वाको योगदान स्मरण गर्दै उनको सामाजिक एकता, त्याग र मानवीयताको बाटोमा हिँड्न सबैलाई आह्वान गरिन् ।
‘११४६ वर्षअघि शंखधर साख्वाले ऋणमा डुबेका नागरिकलाई मुक्त गर्दै सामाजिक समानताको आधार बनाएका थिए । यही दिन नै नेपाल संवत् सुरु भएको ऐतिहासिक क्षण हो,’ उनले भनिन् ।
शंखधर साख्वालाई वि.सं. २०५६ मा राष्ट्रिय विभूति घोषणा गरिएको थियो । त्यसपछि वि.सं. २०६५ कात्तिक ७ गतेदेखि नेपाल संवतलाई राष्ट्रिय संवतका रूपमा मान्यता दिइएको हो ।
‘शंखधरबाट सिक्नुपर्ने मुख्य कुरा व्यक्तिगत र दलगत हितभन्दा माथि उठेर राष्ट्रिय हितलाई प्राथमिकता दिनु हो,’ प्रधानमन्त्री कार्कीले भनिन् ।
Facebook Comment