नेपालको उपाधि भिडन्त आज सामाओसँग, जिते प्रत्येक खेलाडीलाई १९ लाख ५० हजार पुरस्कार
काठमाडौं । आइसीसी टी–२० विश्वकप एसिया तथा पूर्वी एसिया–प्यासिफिक (EAP) क्षेत्र छनोट अन्तर्गत नेपालले सुपर सिक्सको अन्तिम खेलमा आज सामाओसँग प्रतिस्पर्धा गर्दैछ ।
ओमानको अल अमेरात क्रिकेट स्टेडियममा हुने यो खेल नेपाली समयअनुसार दिउँसो ४:१५ बजे सुरु हुनेछ ।
पहिले नै विश्वकपमा छनोट भइसकेको नेपालका लागि यो खेल उपाधि जित्ने ऐतिहासिक अवसरका रूपमा रहेको छ । नेपालले सामाओलाई पराजित गरेमा आइसिसीको प्रतियोगितामा पहिलो पटक उपाधि जित्ने उपलब्धि हासिल गर्नेछ ।
आजको खेल जिते नेपालका प्रत्येक खेलाडीलाई १९ लाख ५० हजार पुरस्कार दिइनेछ । सरकारी पुरस्कार ऐन अनुसार, आइसिसी मान्यताप्राप्त प्रतियोगितामा उपाधि जित्ने टिमका हरेक खेलाडीलाई १९ लाख ५० हजार रुपैयाँ पुरस्कार दिइनेछ ।
त्यस्तै, हालै सम्पन्न टी–२० अन्तर्राष्ट्रिय द्विपक्षीय सिरिजमा वेस्टइन्डिजलाई हराएको उपलब्धिका लागि प्रत्येक खेलाडीले १ लाख रुपैयाँ प्राप्त गर्ने व्यवस्था गरिएको छ ।
नेपालले सुपर सिक्स चरणमा हालसम्म खेलेका सबै खेल जित्दै उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।
पहिलो खेलमा युएईलाई १ रनले, दोस्रो खेलमा कतारलाई ५ रनले, तेस्रो खेलमा ओमानलाई ३८ रनले पराजित गरेको हो ।
नेपाल अपराजित रहँदै शीर्ष स्थानमा पुगेको हो । सामाओ भने सुपर सिक्सका तीनै खेलमा पराजित हुँदै तालिकाको पुछारमा छ ।
नेपालले यसअघि सन् २०१० मा आइसिसी लिग डिभिजन ५ को उपाधि जितेको थियो । आजको खेल जिते १५ वर्षपछि आइसिसी प्रतियोगिताको उपाधि उठाउने अवसर नेपाली टिमले पाउनेछ ।
Facebook Comment