कार्तिकमा सात फिल्मको प्रतिस्पर्धा, दर्शकको साथ कसलाई ?

काठमाडौं । असोज महिनामा नेपाली फिल्म क्षेत्रलाई जेनजी आन्दोलनले नराम्रोसँग प्रभावित पारेको छ। असोजमा ६ फिल्म रिलिजको तयारीमा रहे पनि आन्दोलनका कारण दुई प्रमुख फिल्म ‘जारी २’ र ‘अभिमन्यु’ प्रदर्शनमा आउन सकेनन्। त्यसकै प्रभाव स्वरूप असोजमा चारवटा मात्र फिल्म रिलिज भए।

दशैंको अवसर पारेर १३ असोजमा ‘हरिबहादुरको जुत्ता’, ‘माइतीघर’ र ‘बलिदान’ प्रदर्शनमा आए भने ‘जेरी अन टप’ आगामी शुक्रबार (असोज ३१) बाट रिलिज हुँदैछ।

सिनेपाः बक्सअफिसका अनुसार २६ असोजसम्म ‘बलिदान’ले ४ करोड ७९ लाख, ‘हरिबहादुरको जुत्ता’ले ४ करोड ३२ लाख र ‘माइतीघर’ले ३ करोड ४६ लाख रुपैयाँ कमाइसकेका छन्। गत वर्षको तुलनामा यो रकम कम हो । दशैंमा २० करोडभन्दा बढी व्यापार हुने अपेक्षा भए पनि यस वर्ष दोस्रो सातासम्म जम्मा १२ करोड हाराहारीको कारोबार मात्रै भयो।

कात्तिक महिनाले भने नेपाली फिल्म क्षेत्रलाई पुनः उत्साहित बनाउने संकेत दिएको छ। यस महिनामा फरक–फरक शैली र कथावस्तुका सात नयाँ फिल्म प्रदर्शनमा आउँदै छन् । ‘वरिष्ठ बलराम’, ‘सोल्टिनी’, ‘मैझारो’, ‘परान’, ‘जारी २’, ‘अभिमन्यु’ र ‘मन विनाको धन’ले प्रदर्शन मिति तोकेका छन् ।

कात्तिक ६ गते भाइटीकाको दिन ‘वरिष्ठ बलराम’ र ‘सोल्टिनी’ रिलिज हुने भएका छन्। ‘सोल्टिनी’ ग्रामीण परिवेशमा आधारित प्रेमकथा हो, जसमा प्रकाश सपुत र परीक्षा लिम्बू मुख्य भूमिकामा छन्। कार्यकारी निर्माताको रूपमा धरानका मेयर हर्क साम्पाङ नेतृत्वको ‘हर्क साम्पाङ रिभोलुसन एन्ड टिम’ जोडिएको छ।

‘वरिष्ठ बलराम’ ले समाजभित्रको शक्ति संघर्ष देखाउँछ। यसमा दयाहाङ राई, विजय बराल, समृद्धि अर्याल, माओत्से गुरुङ लगायतको अभिनय छ। निर्देशन सुरेन्द्र पौडेलले गरेका हुन्।

भोलिपल्ट, कात्तिक ७ गते, हाँस्यकलाकार विल्सन विक्रम राई (तक्मे बुढा) को निर्देशनमा बनेको फिल्म ‘मैझारो’ रिलिज हुँदैछ। फिल्ममा धिरज मगर, मिरुना मगर, दयाहाङ राई, बुद्धि तामाङलगायतको अभिनय छ।

कात्तिक १४ गते प्रदर्शनमा आउने फिल्म ‘परान’ मा नीर शाह, मदनकृष्ण श्रेष्ठ, केकी अधिकारी, बुद्धि तामाङलगायत कलाकार छन्। निर्देशक दीपकप्रसाद आचार्य ‘काकु’को यो पहिलो निर्देशन हो। फिल्मले नेपाली मौलिकता र संस्कृतिलाई उजागर गर्ने उद्देश्य राखेको छ।

कात्तिक २१ गते तीन नेपाली फिल्म एउटै मितिमा प्रदर्शन हुँदैछन् । ‘जारी २’, ‘अभिमन्यु’ र ‘मन विनाको धन’ले एकै दिन प्रदर्शन मिति तोकेका छन् । ‘जारी २’ सुपरहिट ‘जारी’को दोस्रो शृङ्खला, दयाहाङ राई, मिरुना मगर, विजय बराल मुख्य भूमिकामा छन् । फिल्मको निर्देशन उपेन्द्र सुब्बाले गरेका छन् ।

‘अभिमन्यु’ नेपाली र हिन्दी दुबै भाषामा रिलिज हुने फिल्म हो । यसलाई जेन-जी आन्दोलन र बाढी पहिरोले प्रभावित पारेको थियो । यो फिल्मको निर्देशन सुशान्त गौतमले गरेका छन् ।

त्यस्तै ‘मन विनाको धन’ बालगायक अशोक दर्जीको मुख्य भूमिका रहेको फिल्म हो । यसको निर्देशन टंक बुढाथोकीले गरेका छन् ।

अशोक दर्जीले ‘मन विनाको धन ठुलो कि धन बिनाको मन’ बोलको गीतबाट लोकप्रियता कमाएका थिए, र अब यही कथावस्तुमा आधारित फिल्ममा उनी हिरोको रूपमा फर्किँदै छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *