एमाले केन्द्रीय कमिटी बैठक आजदेखि तीन दिन, ओलीले समसामयिक राजनीतिक प्रतिवेदन पेश गर्ने

ललितपुर । नेकपा एमालेको १०औं केन्द्रीय कमिटी बैठक आजदेखि ललितपुरमा सुरु हुँदैछ। बैठक जवालाखेलस्थित रामबाघ महल पार्टी प्यालेसमा बस्ने तय गरिएको छ।

एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार बैठकको सुरुवातमा अध्यक्ष केपी शर्मा ओलीले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन्।

ओलीले पेश गर्ने प्रतिवेदनमा हालको राजनीतिक परिस्थितिसँगै जेन–जी युवा आन्दोलन, त्यसको प्रभाव र परिणाम, र अन्तरिम सरकारले घोषणा गरेको आगामी फागुन २१ गतेको निर्वाचन लगायतका विषय समेटिएका छन्।

ओली निकट नेताहरूका अनुसार, उक्त प्रतिवेदनमा पार्टीको आगामी राजनीतिक रणनीति र जनपरिचालन योजनाको रूपरेखा पनि प्रस्तुत गरिनेछ।

स्रोतका अनुसार ओलीको प्रतिवेदनमा प्रतिनिधि सभा विघटन असंवैधानिक भएको र त्यसको पुनर्स्थापनामार्फत लोकतन्त्र पुनर्बहाली गर्नुपर्ने धारणा समावेश गरिएको छ।

ओलीले लोकतान्त्रिक गणतन्त्रको संरक्षणका लागि समान धारणा भएका दलहरूसँग सहकार्य र सडकस्तरको जनपरिचालन गर्नुपर्ने प्रस्ताव अघि सारेका छन्।

उनको विश्वास अनुसार, प्रतिनिधि सभा पुनर्स्थापनाको मागमा जनता सडकमा आउनेछन् र त्यसले राजनीतिक स्थायित्वको नयाँ चरण सुरु गर्नेछ।

एमालेले केन्द्रीय कमिटी बैठक तीन दिनसम्म सञ्चालन हुने जनाएको छ। बैठकमा संगठन सुदृढीकरण, निर्वाचन तयारी, पार्टीको आन्तरिक एकता र सरकारको कामकारबाहीबारे मूल्यांकन हुने अपेक्षा गरिएको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *