कांग्रेसमा विशेष महाधिवेशनका पक्षमा ५४ प्रतिशत प्रतिनिधिको हस्ताक्षर
काठमाडौं । नेपाली कांग्रेसमा विशेष महाधिवेशनका लागि हस्ताक्षर गर्ने प्रतिनिधिको संख्या कुल कायम प्रतिनिधिको ५४ प्रतिशत नाघेको छ।
कांग्रेसको १४औँ महाधिवेशनमा ४७४३ प्रतिनिधि रहेकामा, स्वतः प्रतिनिधि, पार्टी परित्याग तथा निधन भएका प्रतिनिधि घटाउँदा हाल कायम ४५५६ जना रहेका छन्। तीमध्ये २४८७ जनाले विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेका छन्, जुन कुल कायम प्रतिनिधिको ५४.५८ प्रतिशत हो।
संकलित हस्ताक्षर कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई बुझाउन तयारी गरिएको छ।
महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको अग्रसरतामा हस्ताक्षर संकलन गरिएको हो। यी दुई नेताले मंसिरभित्र नियमित महाधिवेशन सम्पन्न नभए कांग्रेस विधान अनुसार विशेष महाधिवेशन बोलाउनुपर्ने तर्क गर्दै आएका छन्।
कांग्रेसको विधानअनुसार ४० प्रतिशत महाधिवेशन प्रतिनिधिले माग गरेमा विशेष महाधिवेशन आह्वान गर्नुपर्ने व्यवस्था छ।
Facebook Comment