स्वास्थ्यकर्मीको पारिश्रमिक र सुविधा सुनिश्चित गर्न मन्त्रालयको निर्देशन

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सक, नर्सिङ तथा अन्य स्वास्थ्यकर्मीहरूको पारिश्रमिक र सेवा–सुविधा सुनिश्चित गर्न सम्बन्धित निकायहरूलाई निर्देशन दिएको छ।

मन्त्रालयले देशभरका सरकारी अस्पताल, मेडिकल कलेज, सामुदायिक तथा निजी स्वास्थ्य संस्थाहरूलाई पत्राचार गर्दै पारिश्रमिक तथा सुविधा व्यवस्थापनसम्बन्धी प्रावधान तत्काल कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो।

मन्त्रालयका मेडिकल ल्याब टेक्नोलोजिस्ट राजकुमार पाण्डेद्वारा जारी पत्रमा पाँच बुँदामा व्यवस्था गरिएको निर्देशन लागू गर्न भनिएको छ।

निर्देशन अनुसार स्वास्थ्य संस्थाहरूले कार्यरत नर्सिङ र अन्य स्वास्थ्यकर्मीहरूलाई नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकभन्दा कम तलब दिन नपाइने र आवश्यक सेवा सुविधा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ।

त्यस्तै तोकिएको समयभन्दा बाहिर अतिरिक्त कार्य गरेबापत भत्ता दिने, करार (नियुक्ति सम्झौता) मार्फत मात्र कर्मचारी राख्ने, ज्यालादारीमा काम गराउन नपाइने तथा शैक्षिक प्रमाणपत्रहरू कार्यालयले राख्न नपाइने भनिएको छ।

यस्तै सबै स्वास्थ्यकर्मीलाई पारिश्रमिक बैंकमार्फत उपलब्ध गराउने र अनुबन्धको पत्र अनिवार्य रूपमा उपलब्ध गराउनुपर्ने व्यवस्था पनि निर्देशनमा समावेश गरिएको छ।

मन्त्रालयले देशभरका सबै स्वास्थ्य तथा शैक्षिक संस्थालाई पाँच बुँदाको कार्यान्वयन तुरुन्त गराउन र कार्यान्वयनको अवस्था प्रतिवेदन सहित मन्त्रालयमा पठाउन भनेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *