बाढीपहिरो प्रभावित इलाम पुगे मन्त्री कुलमान
इलाम । गत असोज १८ गतेको बाढी पहिरोको स्थलगत अवलोकन गर्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङ इलाम पुगेका छन् ।
इलामको राजदूवाली पार गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले इलामको क्षति र त्यसको राहतका लागि सरकारले उच्च प्राथमिकतामा राखेको बताए ।
उनले भने, ‘सरकारले इलामलाई विपद संकटग्रस्त क्षेत्र घोषणा गरिसकेको छ । संकटग्रस्त क्षेत्र घोषणा गर्नुभनेको यहाँको सडक, खानेपानी, विजुलीबत्तिसहित नागरिकमा आधारभूत आवश्यकता पूर्ति गर्न तदारुकताका साथ पहलकदमी चाल्नु हो ।’
उनले इलाममा भएको क्षतिको विवरण लिने काम पनि जारी रहेको बताए । उनले भने, ‘क्षतिको विवरण आउनेक्रम जारी छ । धेरै ठाउँमा विद्युत अवरोध भएको छ । हाम्रा प्राविधिक साथीहरू खटिनुभएको छ । भोलिसम्ममा विद्युत सेवा सुचारु हुने जानकारी मैले पाएको छु । यो मेची राजमार्ग पनि भोलिसम्ममा सुचारु हुनेछ ।’
राहत वितरणको कामलाई पनि व्यवस्थित बनाइने उनले बताए । हामीले राहत वितरणको काम थालेको छौँ । स्थानीय, प्रदेश र संघीय सरकारको समन्वयमा राहत वितरणको काम हुनेछ ।’
मन्त्री घिसिङसहितको टोली काठमाडौंबाट भद्रपुरसम्म हवाइजहाजमार्फत र त्यहाँबाट माइखोलाको राजदूवालीसम्म सवारीमार्फत पुगेका थिए । त्यहाँ पहिरोले क्षति पुर्याएको राजमार्गको अवलोकन गर्दै टोली इलाम पुगेको छ।
Facebook Comment