सरकारले जनताको आवाज रोक्न खोज्यो, हामी प्रतिकार गर्छौँ: महेश बस्नेत

काठमाडौं । नेकपा एमालेका नेता महेश बस्नेतले सरकारले जनताका आवाज रोक्ने प्रयास गरेको आरोप लगाएका छन् ।

उनले भोलि युवा संघ नेपालले गर्न लागेको मोटरसाइकल र्‍याली र र्‍याली सञ्चालन गर्न प्रशासनले अनुमति नदिने विषय जोड्दै सामाजिक सञ्जालबाट आक्रोश पोखेका हुन् । उनले लेखेका छन्, ‘लोकतन्त्रमा प्रतिबन्ध होइन, आवाज सुन्ने संस्कार चाहिन्छ सरकार ।’

असोज २५ गते शनिबार मोटरसाइकल र्‍याली गर्ने तयारी युवासंघले गरेको छ । यही सन्दर्भमा युवासंघले पत्रकार सम्मेलनको आयोजना गरेको छ । यता स्वीकृति विना कुनै पनि कार्यक्रम गर्न नपाइने भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले रोक लगाएको छ।

प्रशासनको रोकपछि बस्नेतले शान्तिपूर्ण कार्यक्रम रोक्न गृह मन्त्रालयले अधिकार दुरुपयोग गरेर जिल्ला प्रशासन मार्फत
जनताको आवाज रोक्ने प्रयास गरिएको आरोप लगाएका छन् ।

उनले भनेका छन्, ‘आन्दोलनका घटनालाई बहाना बनाएर जनताको अभिव्यक्तिको अधिकारमाथि लगाइएको प्रतिबन्ध लोकतन्त्र, विधिको शासन र जनसत्तामाथिको प्रहार हो। सरकार जनताको आवाजसँग डराएको छ। नेकपा (एमाले) र युवा संगठनले यसलाई गम्भीरतापूर्वक लिएको छ । आवश्यक परे संविधान र लोकतन्त्रको पक्षमा प्रतिरोधका लागि सबै जना तयार हुनुपर्छ।’




Leave a Reply

Your email address will not be published. Required fields are marked *