बलिदानलाई दर्शकको साथ
काठमाडौं । दशैंको फूलपातीको रौनकसँगै रिलिज भएको नेपाली चलचित्र ‘बलिदान’ ले प्रदर्शनको पहिलो सातामै दर्शकको उल्लेखनीय साथ प्राप्त गरेको छ। साताको अन्त्यसम्म देशभर करिब १ सय २० शोमा निरन्तर प्रदर्शन भैरहेको यस चलचित्रले हलहरूमा उत्साहजनक भीड तानेको छ।
वितरकहरूका अनुसार चलचित्रले काठमाडौंका मल्टिप्लेक्सदेखि सुदूरपश्चिम र पूर्वका सहरहरूका हलसम्म सशक्त व्यापार गरिरहेको छ। कुबेर सिने डिस्ट्रीब्युसनका पुष्कर घिमिरेका भनाइमा, पोखराको मिडटाउन हलमा प्राविधिक कारणले रोकिएको शो फेरि सुरु भइसकेको छ र बाहिरी क्षेत्रको व्यापार अपेक्षाभन्दा राम्रो देखिएको छ।
काठमाडौं उपत्यकाका वितरक गोविन्द शाहीका अनुसार ‘बलिदान’ ले अहिलेको सुस्त बजारमा नयाँ ऊर्जा भरेको छ। ‘देशको कठिन अवस्थाबीच पनि यो चलचित्रले दर्शकलाई हलसम्म ल्याएको छ, जुन चलचित्र उद्योगका लागि सकारात्मक सङ्केत हो,’ उनले भने।
निर्देशक सन्तोष सेनले पनि प्रदर्शनको प्रारम्भिक नतिजाप्रति सन्तुष्टि जनाउँदै छिट्टै आधिकारिक व्यापारिक तथ्यांक सार्वजनिक गर्ने तयारी भइरहेको बताए।
पहिलो साताभर चलचित्र युनिटका सदस्य अभिनेता समीर भट्ट, अभिनेत्री ऋचा शर्मा र निर्देशक सेनसहितका कलाकार विभिन्न हलमा पुगेर दर्शकसँग प्रत्यक्ष भेटघाटमा व्यस्त रहे। दर्शकको माया पाएपछि अभिनेता भट्टले भने, “यो प्रतिक्रिया हाम्रो वर्षौंको मेहनतको पुरस्कार हो।”
दर्शकहरूका अनुसार चलचित्रको बलियो कथा र एक्सन दृश्यले रोमान्चक अनुभव दिएको छ। विशेष गरी आमा–छोराबीचको सम्बन्ध र भावनात्मक प्रसङ्गहरूले धेरैलाई छोएको बताइन्छ। कतिपय दर्शकले ‘बलिदान’ लाई अहिलेको नेपालको सामाजिक यथार्थको प्रभावकारी चित्रणका रूपमा व्याख्या गरेका छन्।
‘आशुसेन फिल्म प्रोडक्सन प्रा.लि.’ को ब्यानरमा बनेको यो चलचित्रमा समीर भट्टसँगै सौगात मल्ल, अर्पण थापा, ऋचा शर्मा, कविता राय, हेमन्त बुढाथोकी र प्रेम पुरीको सशक्त अभिनय देख्न सकिन्छ। चलचित्रका निर्माता पवन ब्राडफोर्ड बिस्ट र कार्यकारी निर्माता प्रेम पुरी हुन्।
Facebook Comment