बाढी पहिरोले इलाममा मात्र ३७ जनाको मृत्यु

इलाम । दुई दिनदेखि परेको वर्षासँगैको बाढी पहिरोले इलाममा सबैभन्दा धेरै मानवीय क्षति भएको छ। यो समाचार तयार पार्दासम्म इलामका विभिन्न स्थानमा गएको बाढी पहिरोमा परेर ३७ जनाले ज्यान गुमाएका छन् ।

इलामका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले दिएको जानकारी अनुसार अहिलेसम्म ३७ जनाको ज्यान गएको छ भने चार जना अझै बेपत्ता छन् ।

घटनामा परी सूर्योदय नगरपालिका १, मानेभञ्ज्याङमा पाँच जनाको ज्यान गएको छ । इलाम नगरपालिका-६, घोसमा ६ जनाको मृत्यु भएको छ । इलाम नगरपालिकाकै बालनगाउँमा एक जना बेपत्ता छन् ।

त्यस्तै सन्दकपुर गाउँपालिकामा ४ को मृत्यु भएको छ भने दुई जना बेपत्ता छन् । माङ्सेबुङ गाउँपालिकामा तीन जनाको ज्यान गएको जिल्ला प्रशासन कार्यालय इलामले जनाएको छ ।

बाढी पहिरोमा परी देउमाई नगरपालिकामा ८ जनाको मृत्यु भएको छ । माइजोगमाई गाउँपालिकामा ७ को मृत्यु भएको छ भने एक जना बेपत्ता छन् । त्यस्तै फाकफोकथुम गाउँपालिकामा एक जनाको मृत्यु भएको छ ।

जिल्लाका धेरै ठाउँमा पहिरो गएकाले धेरै क्षति भएको प्रमुख जिल्ला अधिकारी नेपाल बताइन् । विपद्को यो समयमा उद्धारको कार्य जारी रहेको बताउँदै उनले क्षतिको विवरण आउने क्रम पनि रहेको बताइन ।

यसैबीच भारतको दार्जिलिङमा पहिरोमा परेर इलाम सूर्योदय नगरपालिका-९ का ३३ वर्षीया सत्मा लामाको ज्यान गएको छ । लामा दशैं मनाउन माइत मिरिक गएको बेला पहिरोमा परेकी हुन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *