ओलीको प्रहार : ‘हा–हु गरेर बनेको सरकारलाई देश जिम्मा लगाएर हामी भाग्छौं र ?’
काठमाडौं । नेकपा (एमाले) अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारलाई ‘तोडफोड र आगजनीको उपज’ भन्दै कडा प्रहार गरेका छन्।
बडादशैंको अवसरमा भक्तपुरको गुण्डुमा आयोजित युवा संघ नेपालको खुला कार्यक्रममा बोल्दै ओलीले सरकारप्रति तीव्र आलोचना गर्दै आफ्नो नेतृत्वकालका सबै काम र अभिव्यक्तिहरू पारदर्शी रूपमा प्रमाणसहित सार्वजनिक गर्न चुनौती दिए।
उनले भने, ‘जेनजी सरकार तोडफोड र आगजनीबाट बनेको हो। मैले कर्मचारीलाई, प्रहरीलाई दिएका निर्देशनदेखि देशका हरेक क्षेत्रमा गरेका कामहरू सबै रेकर्डमा छन्, ल्याएर जनतामाझ सार्वजनिक गरौं। हामी छलछाम होइन, पारदर्शी ढंगले अघि बढेका छौं।’
भ्रष्टाचारको आरोपलाई समेत ओलीले अफवाह भन्दै खारेज गरे। ‘भ्रष्टाचार ग¥यो भनेर हल्ला गरेर हुँदैन। प्रमाणसहित ल्याओस्, नत्र यस्ता कुरा हावादारी मात्र हुन्,’उनले स्पष्ट पारे।
त्यसैगरी हाल सरकार केही नेताहरूको पासपोर्ट रोक्ने तयारीमा रहेको चर्चा चलेको प्रसंगलाई लिएर पनि उनले असन्तुष्टि जनाए। ओलीले प्रश्न गरे, “के सरकारलाई लाग्छ हामी देश छाडेर भाग्छौं ? यो हा–हु गरेर बनेको सरकारलाई देश जिम्मा लगाएर हामी विदेश भाग्छौं र ?”
ओलीले देश निर्माण गर्ने जिम्मेवारी एमालेको नै रहेको दोहोर्याउँदै संवैधानिक, लोकतान्त्रिक र सुशासनको मूलधारमा राष्ट्रलाई फर्काउने प्रतिबद्धता व्यक्त गरे।
उनले थपे, ‘देश असुरक्षित बनाउने, आतंक फैलाएर सत्तामा पुगेकाहरूले नै आज सुरक्षा दिन सकिरहेका छैनन्। जनतालाई सुरक्षा दिन सरकार सक्षम हुनैपर्छ, नत्र यो अन्याय मात्र हुन्छ।’
यसरी ओलीको भाषणले सरकारविरुद्ध पुनः नयाँ बहस चर्काउने संकेत दिएको छ।
Facebook Comment