सञ्चारमन्त्री खरेल सरकारका प्रवक्ता नियुक्त, तीन महत्त्वपूर्ण विभाग पूर्ववत् अवस्थामा फर्काइयो

काठमाडौं । सरकारको प्रवक्तामा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल नियुक्त भएका छन्। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले खरेललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो।

सोही बैठकले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री कार्यालयमा ल्याएका तीन महत्त्वपूर्ण निकायलाई पुरानै संरचनामा फर्काउने निर्णय पनि गरेको छ। राजस्व अनुसन्धान विभाग, सम्पत्ति शुद्धीकरण विभाग र राष्ट्रिय अनुसन्धान विभागलाई पुनः पूर्ववत् संरचनामा पुनर्स्थापना गर्ने निर्णय गरिएको हो।

ओलीको नेतृत्वमा बनेको सरकारले २०७४ सालको निर्वाचनपछि दुईतिहाइ बहुमतको आधारमा यी तीन विभागलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहत ल्याएर केन्द्रिकृत गरेको थियो।

यस्तै, मन्त्रिपरिषद्को बैठकले अनलाइन सञ्चारमाध्यमको दर्ता प्रक्रिया पनि फेरि सूचना तथा प्रसारण विभागमार्फत हुने निर्णय गरेको छ। ‘छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८’ बमोजिम अनलाइन सञ्चारमाध्यम दर्ता गर्ने अधिकार विभागका महानिर्देशकलाई स्थानीय अधिकारीको रूपमा तोकिएको सञ्चारमन्त्री खरेलले जानकारी दिए।

यसअघि ओली सरकारले सो ऐन संशोधन गरी अनलाइन सञ्चारमाध्यमलाई जिल्ला प्रशासन कार्यालयमार्फत दर्ता गर्नुपर्ने व्यवस्था गरेको थियो। बिहीबारको मन्त्रिपरिषद् बैठकले उक्त प्रावधान खारेज गर्दै पूर्ववत् अवस्थामै फर्काएको हो।




Leave a Reply

Your email address will not be published. Required fields are marked *