दशैंमा फिल्म हल आउने दर्शकको संख्या बढ्दैछ
काठमाडौं । नेपाली फिल्मी क्षेत्र क्रमश: नेपाली नागरिकसँग जोडिन थालेको छ । जसले दर्शकलाई नेपाली चलचित्र प्रतिको मोह बढाएको छ । मोहमात्र बढाएको छैन, फिल्मी क्षेत्रमा आश्रित जनशक्तिमा खुसीको बहार पनि आउन थालेको छ ।
विगतमा बलिउड चलचित्रलाई नै नेपाली दर्शकले धेरै माया गर्थ्ये । तर अहिले अवस्था फेरिएको दृष्टान्त सुनाउँछन् वान सिनेमा नयाँ बानेश्वरका महाप्रवन्धक उमेशराज गिरी ।
झण्डै १६ वर्षदेखि फिल्मी क्षेत्रसँग जोडिएर काम गरेका उनलाई नेपाली दर्शकले नेपाली फिल्म मनाउन थालेपछि औधि खुसी मिल्न थालेको छ । उनले भने, ‘अहिले नेपाली आमाबुवा, दाजभाइ तथा दिदीबहिनीको फिल्म प्रतिको क्रेज बढेको छ । नयाँ रिलिज फिल्म हेर्न उहाँहरू हल आउँदा फिल्मका सबै विषय जानेर बुझेर आउनुहुन्छ । हामीलाई यस्ता कुराले धेरै खुसी र हौसला मिल्दो रहेछ ।’
दशैं लक्षित रिलिज डेट भएकाले पनि दर्शकको चाप हुने गरेको उनले बताए ।
नेपाली फिल्मप्रति नेपाली दर्शकको मोह बढेको भने धेरै नभएको सुनाउँछन् गिरी । उनी भन्छन्, ‘करि ७/८ वर्ष जति भयो होला । अहिले नेपाली परिवेशलाई सुहाउँदो फिल्म बनेर होला दर्शकले खोजीखोजी फिल्म हेर्ने गरेका छन् । यो हलसँग जोडिएकालाई मात्र होइन फिल्म क्षेत्रमा काम गर्ने सबैलाई खुसीको कुरा हो ।’
पछिल्लो समय हजुरबुवाहजुरआमा पुस्ता पनि लौरो टैकेरै हलमा आउने क्रम बढेको उनले सुनाए । दशैंमा काम गर्न झन भ्याइनभ्याइ हुने बताउँदै उनले दर्शकको साथले उत्साही भएर काम गर्ने हौसला मिलेको बताए ।
उनले भने, ‘नेपालमा दशैंको समयमा फिल्म हेर्ने चलन बढ्यो । लामो बिदा भएर पनि होला । अहिले बनेका नेपाली फिल्म पारिवारिक भएर पनि होला । सबै परिवार एकै पटक भेला भएर पनि होला । कुनै कुनै बेला त एकै जनाले २०/२५ टिकट एक्लै लिनुहुन्छ । परिवारका सबै सदस्य मिलेर हेर्नुहुन्छ ।’
उनले नेपालमा पनि फिल्म हेर्ने संस्कृतिको विकास भएको खुसीले यो उद्योग नै उत्साही भएको बताए ।
Facebook Comment