दशैंको रौनक : पाँच दिनमै काठमाडौं उपत्यकाबाट झण्डै दुई लाख यात्रु बाहिरिए

काठमाडौं । दशैं नजिकिँदै गर्दा घर फर्किने यात्रुको चाप काठमाडौं उपत्यकामा दिनानुदिन बढ्दो क्रममा छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार असोज १ गतेदेखि ५ गतेसम्म २९ हजार ३६० सार्वजनिक सवारीसाधन प्रयोग गरी एक लाख ८९ हजार २१८ यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

कार्यालयका प्रहरी नायब उपरीक्षक लोकेन्द्रसिंह गुरुले अध्ययन, रोजगारी, व्यवसाय र अन्य कारणले काठमाडौं बस्दै आएका नागरिकहरू चाडपर्व मनाउन आफ्ना घरतर्फ फर्किन थालेको जानकारी दिए। उनका अनुसार थानकोट, साँगा, दक्षिणकाली र बालाजु नाकाबाट ती यात्रुहरू बाहिरिएका हुन्।

कार्यालयको तथ्यांकअनुसार —

असोज १ गते : ३४ हजार ५५६

असोज २ गते : ३६ हजार १००

असोज ३ गते : ४० हजार ५५५

असोज ४ गते : ३४ हजार ८७९

असोज ५ गते : ४३ हजार १२४ यात्रु उपत्यकाबाट बाहिरिएका छन्।

तर, सडक अवरुद्ध हुँदा यात्रुलाई समस्या भइरहेको छ। नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका महासचिव डेकनाथ गौतमका अनुसार वर्षातका कारण राजमार्गमा बारम्बार पहिरो जाँदा बसहरू घण्टौँसम्म बाटोमै रोकिनुपरेको छ। विशेषगरी मुग्लिङ नारायणघाट सडकखण्डमा समस्या देखिएको र यसले यात्रुलाई समयमा गन्तव्य पुग्न कठिनाइ भएको उनले बताए। उनले अवरुद्ध सडक तत्काल सञ्चालन गर्न सरकारलाई आग्रहसमेत गरेका छन्।

यता, काठमाडौं गोङ्गबुस्थित नयाँ बसपार्कमा यात्रुको भीड दिनानुदिन बढ्दै गएको छ। बसपार्क सञ्चालन गर्ने लोत्से बहुउद्देश्यीय प्रालिका मानव संसाधन प्रमुख पङ्कज मल्लका अनुसार सामान्य अवस्थामा दैनिक चार पाँच हजारजतिले मात्रै बसपार्क प्रयोग गर्ने गरेका भए पनि अहिले यात्रुको सङ्ख्या बढेर दैनिक १५ हजारभन्दा बढी पुगेको छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *