दुई दशकपछि फिल्ममा फर्किँदै उत्तम र निरुताको लोकप्रिय जोडी

काठमाडौं । नेपाली चलचित्र इतिहासमा दर्शकको मन जितेको ‘दर्पण छायाँ’बाट चिनिएका कलाकार उत्तम प्रधान र निरुता सिंह पुनः एकै पर्दामा देखिन लागेका छन्। करिब २२ वर्षअघि उपहार फिल्ममा सँगै अभिनय गरेका यी दुई कलाकार अब निर्देशक किरण नेपालीको नयाँ चलचित्र ‘महादशा’मा पुनर्मिलन गर्दैछन्।

फिल्म क्षेत्रमा लामो समयदेखि केही टाढा रहेका यी कलाकारलाई अनुबन्ध गरेको जानकारी निर्देशक नेपालीले सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। उनले लेखेका छन्, ‘उत्तम र निरुताले अन्तिम पटक २००३ मा एउटै स्क्रिनमा काम गरेका थिए। २२ वर्षपछि फेरि एकसाथ देखिँदा अत्यन्तै खुसी लागेको छ।’

उत्तम निरुताको तस्बिरसहितको पोस्ट गर्दै उनले पुरानो लोकप्रिय जोडीसँग काम गर्ने अवसर पाउनु आफ्नो लागि उत्साहजनक भएको बताएका छन्।

निर्माण पक्षले चलचित्रलाई आगामी दशैँपछि छायांकन गर्ने तयारी गरेको छ। ‘महादशा’मा उत्तम र निरुतासँगै प्रमोद अग्रहरि, प्रेमा लामगादे, हाकिम गुरुङ र रेआर राईलगायतका कलाकार पनि अभिनय गर्नेछन्।

मनिष गौतमले लेखेको यो कथानकलाई राज के. शाह, श्याम मगर र अमलादेवी राईले निर्माण गर्दैछन्। चलचित्रमा नेपाली परम्परा, संस्कार र संस्कृति मात्र होइन, नागरिक जीवनमा ग्रह नक्षत्रले पार्ने प्रभावलाई समेत प्रस्तुत गरिने जनाइएको छ।

‘महादशा’मार्फत निर्देशनमा डेब्यू गर्न लागेका किरण नेपाली यसअघि ‘दुई नम्बरी’, ‘हात्तिछाप’ जस्ता चलचित्र निर्माण गरिसकेका छन्। पछिल्लो समय पुराना कलाकारहरू पुनः फिल्म क्षेत्रमा फर्किन थालेका छन्। उत्तम प्रधान चलचित्र ‘कल्ली’मार्फत १३ वर्षपछि परदेमा फर्किएका हुन् भने निरुता सिंह ‘३६ को आँकडा’बाट पुनः सक्रिय भएकी थिइन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *