नारायणगढ–मुग्लिन सडक अवरुद्ध, हजारौँ यात्रु बाटैमा अल्झिए
काठमाडौं । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलानजिक गएको पहिरोका कारण आवागमन अवरुद्ध भएको १५ घण्टासम्म पनि सडक खुल्न सकेको छैन ।
इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार शुक्रबार साँझ करिब ७ः१५ बजे ठूलो पहिरो खस्दा सडक दुवैतर्फको आवागमन पूर्णरूपमा रोकिएको हो । बिहान ६ बजेसम्म पनि ढुङ्गा र माटो झर्ने क्रम नरोकिएपछि पन्छाउने काम सुरु गर्न नसकिएको जनाएको छ ।
सडक डिभिजन कार्यालय भरतपुरले ढुङ्गा खस्ने क्रम रोकिएपछि तीनवटा मेसिन प्रयोग गरी पहिरो पन्छाउने तयारी गरिएको जानकारी दिएको छ । तर हालसम्म यात्रु र सवारीसाधनलाई बाटैमा रोकिएको छ ।
सडक अवरुद्ध हुँदा काठमाडौं–पोखरा र अन्य मार्गमा चल्ने सवारीसाधन लामो जाममा फसेका छन् । सयौँ सवारीसाधन र हजारौँ यात्रु अहिले सडकमै अल्झिएका छन् । यात्रुहरूलाई आफ्नो लेनमा बसेर सुरक्षित रहन अनुरोध गरिएको छ ।
सडक डिभिजन र प्रहरीले आज यो सडकखण्ड भएर यात्रा नगर्न सबैलाई अनुरोध गरेका छन् ।
Facebook Comment