‘ब्रेन इटिङ अमीबा’ को संक्रमणले केरलामा १८ जनाको मृत्यु
काठमाडौं । ‘ब्रेन इटिङ अमीबा’को संक्रमणले भारतको केरला राज्यमा १८ जनाको मृत्यु भएको छ । ६० जनामा संक्रमण पुष्टि भइसकेको छ । सेप्टेम्बर अन्तिमसम्मको तथ्यांक अनुसार १८ जनाको ज्यान गएको हो ।
केरला राज्यको विपक्षी दल यूडीएफले केरला सरकारले संक्रमण महामारीका रुपमा फैलँदा पनि रोगको कारण तथा रोकथाम र नियन्त्रणमा कुनै वैज्ञानिक कदम नचालेको आरोप लगाएको छ ।
विधानसभाका आईयूएमलका नेता एन मशम्सुद्दीनले यो रोग तीब्र रुपमा फैलिएर राज्यको कोल्लम, मलम्पुरम, त्रिशूर र पालक्कड जिल्लामा फैलिसकेको बताए ।
तर केरला सरकारको स्वास्थ्य विभागले भने यो रोगलाई गम्भिर रुपमा लिएको जनाएको छ । केरलामा यो रोग दुई वर्षअघि अर्थात २०२३ मा देखा परेको थियो ।
केरला सरकारको भनाइ अनुसार यो विषयलाई अत्यन्तै गम्भीरताका साथ हेरेर आवश्यक स्वास्थ्य सुरक्षा कदम चालिएको छ । विधायक टीआई मधुसूदननले पिनराई विजय नेतृत्वको सरकारले सार्वजनिक स्वास्थ्यलाई सर्वाधिक प्राथमिकता दिएको बताएका छन् ।
चिकित्सकका अनुसार प्राइमरी अमिविक मेनिङ्गोइन्सेफपलाइटिस (पीपीएम) भनिन्छ । यसको प्रमुख कारण निग्लेरिया फावलेरी नामक अमिबा हो । प्रायः पौडी खेल्दा वा दूषित पानीमा डुब्दा यो अमीबा नाकबाट शरीरमा पस्छ र त्यसपछि दिमागमा पुगेर मस्तिष्क नष्ट गर्छ । यो रोगको संक्रमण भएमा २३ प्रतिशत मृत्युदर रहेको छ । रोग सुरु भएको २४ घण्टाभित्रै पहिचान भइ उचित उपचार भएमा निको हुन सक्छ ।
यसका प्रमुख लक्षणहरूमा उच्च ज्वरो, कडा रुपमा टाउको दुख्ने, घाँटी दुख्ने, बेहोस हुने लगायतका लक्षण देखिन्छ । तातो पानी भएका पोखरी, दूषित स्वीमिङ पुलमा यो अमिवा भेटिन्छ ।
दूषित पानीमा पौडी नखेल्न, पौडी खेल्दा नाक-मुखमा पानी नपस्ने चश्मा या मास्कको प्रयोग गर्न, स्वमिङ पूलमा नियमित रुपमा क्लोरिनको प्रयोग गरेमा यो रोगको संक्रमणबाट बच्न सकिने चिकित्सकले सुझाएका छन् ।
Facebook Comment