संविधान दिवसले नेपालीको आकांक्षा पूरा गर्न एकजुट हुने प्रेरणा मिलोस् : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संविधान दिवसले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सबैलाई एकजुट हुन प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

उनले संविधानको मर्म र भावनालाई व्यवहारमा रुपान्तरण गर्न मन, वचन र कर्मले समर्पित भई आ–आफ्नो तर्फबाट इमान्दार र प्रभावकारी प्रयास जारी राख्न सबैमा आह्वान समेत गरेका छन् ।

संविधान दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै राष्ट्रपति पौडेलले नेपालको संविधानले सामाजिक न्यायमा आधारित समतामूलक समाजको परिकल्पना गर्दै समाजवाद उन्मुख अर्थतन्त्रको निर्माण गर्ने लक्ष्य लिएको उल्लेख गरेका छन् ।

साथै केन्द्रिकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको पनि उनले उल्लेख गरेका छन् ।

संविधानद्वारा प्रत्याभूत गरिएका राज्यबाट प्राप्त हुने सेवा र सुविधाहरूमा सबै नागरिकको समान पहुँच स्थापित गर्नुका साथै आम नागरिकलाई सामाजिक सुरक्षाको प्रत्याभूति प्रदान गर्नुपर्नेमा उनले जोड दिएका छन् ।

राष्ट्रपति पौडेलले मुलुकको संस्कृति र प्रकृतिले देशमा रोजगारी र आम्दानी दिने असीमित सम्भावनाको ढोका खोलेको छ भन्दै सबै किसिमका बेथितिलाई अन्त्य गर्दै सुशासनको माध्यमबाट जलस्रोत र ऊर्जा शक्तिको उचित व्यवस्थापन गर्न सकेमात्र पनि नेपाल समुन्नत राष्ट्रको अग्रस्थानमा छिट्टै पुग्ने विश्वास व्यक्त गरेका छन् ।

संविधानभित्रै रहेर ‘जेनजी’ आन्दोलनको सम्बोधन आवश्यक : उपराष्ट्रपति यादव
उपराष्ट्रपति रामसहायप्रसाद यादवले जेनजी युवा आन्दोलनको मर्म र भावनाको सम्बोधन पनि संविधानभित्रै रहेर गर्नुपर्नेमा जोड दिएका छन् ।

संविधान दिवसका अवसरमा आज शुभकामना व्यक्त गर्दै उनले सो कुरा बताएका हुन् ।

पछिल्लो समय संविधानको चौतारोभित्रै रहेर ‘जेनजी’ आन्दोलनको सम्बोधन तथा अन्तरिम सरकारको गठनको प्रसंगले संविधानको लचकता, समाधानमुखी प्रकृति र समावेशी चरित्रलाई पुन: पुष्टि गरेको उनको सन्देशमा उल्लेख छ ।

मौलिक हकहरूको अक्षरश: कार्यान्वयन, संघीय संरचनाको सुदृढीकरण, शक्ति–स्रोतको न्यायोचित बाँडफाँट र प्रदेश तथा स्थानीय तहलाई संविधानसम्मत अधिकारसम्पन्न बनाउने कार्यमा सबै पक्षको सक्रियता एवं प्रतिबद्धता अपरिहार्य रहेको उनले उल्लेख गरेका छन् ।

संघीय प्रणालीप्रति जनविश्वास कायम राख्न ती प्रयासहरू निर्णायक हुने उपराष्ट्रपति यादवको भनाइ छ । उनले भनेका छन्, ‘नेपालको संविधान नेपाली जनताको दीर्घ संघर्ष, विविधता र समावेशिताको ऐतिहासिक उपलब्धि हो, यो दस्तावेजले हाम्रो राष्ट्रिय आकांक्षा, सार्वभौम अधिकार र लोकतान्त्रिक मूल्यहरूको जग बसालेको छ ।’

‘संविधानले हामीलाई न्याय, समानता, स्वतन्त्रता र सामाजिक न्यायको मार्गदर्शन प्रदान गर्दछ, यसले बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समाजलाई एकताको सूत्रमा बाँध्दै समृद्ध राष्ट्र निर्माणको आधार तयार गरेको छ’, उनले भनेका छन् ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापनार्थ भएका ऐतिहासिक आन्दोलनहरू र पछिल्लो समय ‘जेनजी’ युवाको प्रदर्शनका क्रममा आफ्नो जीवन उत्सर्ग गरेका शहीदहरूप्रति श्रद्धाञ्जली, घाइते तथा अंगभंग भएकाहरूप्रति सम्मान र परिवर्तनका अग्रदूतहरूप्रति प्रशंसा प्रकट गरेका छन् ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *