देउवा निवासमा पैसा भेटिएको दाबी असत्य : सचिवालयको प्रष्टीकरण

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको सचिवालयले देउवा निवासमा अत्यधिक पैसा भेटिएको भन्ने समाचारलाई असत्य र कपोकल्पित भन्दै खण्डन गरेको छ ।

भदौ २४ गते जेनजी युवाहरूको प्रदर्शनका क्रममा देउवा निवासमा आक्रमण भएपछि सामाजिक सञ्जालमा पैसाको सुरूङ भेटिएको भन्दै विभिन्न भिडियो र फोटोहरू सार्वजनिक भएका थिए । तर सचिवालयले असोज २ गते विज्ञप्ति जारी गर्दै त्यसलाई भ्रामक र पार्टी नेतृत्वलाई बदनाम गर्ने नियतले फैलाइएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

देउवाका स्वकीय सचिव भानु देउवाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “देउवा निवासमा अत्यधिक पैसा भेटिएको, जलेका नोटका अंशहरू निवास परिसरमा भेटिएको, पैसाको सुरुङ रहेकोजस्ता कपोकल्पित समाचार सम्प्रेषण भईरहेकोप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।”

विज्ञप्तिमा सामाजिक सञ्जालमा देखाइएका दृश्यहरू कपोकल्पित, अतिरञ्जित र दुसित मनसायले बनाइएका भ्रामक सामग्री भएको स्पष्ट पारिएको छ । साथै, घरभित्र रहेको अन्डरग्राउन्ड ट्याङ्की पानी भण्डारणका लागि मात्रै भएको दाबी गरिएको छ ।

त्यसैगरी, जलेका नोटका विभिन्न दृश्यलाई प्रविधिको गलत प्रयोगमार्फत सम्पादन गरी युट्युब तथा सामाजिक सञ्जालमा प्रचार गरिएको पाइएकाले त्यसमा कुनै सत्यता नरहेको सचिवालयले जनाएको छ ।

सभापति देउवाले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन् । साथै, सभापति देउवा र उनकी पत्नी डा. आरजु राणा देउवामाथि भएको आक्रमणप्रति भत्सना गरिएको सचिवालयको विज्ञप्तिमा उल्लेख छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *