१४ घण्टादेखि दाउन्ने खण्डमा यातायात अवरुद्ध, सयौँ यात्रु अलपत्र
काठमाडौं । लगातार वर्षापछि सडक हिलाम्मे बनेपछि पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाउन्ने खण्डमा १४ घण्टादेखि यातायात अवरुद्ध भएको छ । स्थानीयका अनुसार बिहीबार साँझ ५ बजेदेखि नै यातायात ठप्प भएको हो ।
पूर्व–पश्चिम तर्फ गन्तव्यमा यात्रा गरिरहेका सयौँ यात्रु दाउन्नेमा अलपत्र परेका छन् । दुम्कीबासदेखि करिब ४ किलोमिटर पश्चिमतर्फ पर्ने विश्वकर्मा मन्दिरनजिक सडक हिलाम्मे बनेपछि सवारीसाधनहरूको लामो जाम दुम्कीबास बजार हुँदै जंगलसम्म फैलिएको छ ।
स्थानीय बासिन्दाका अनुसार विश्वकर्मा मन्दिरदेखि करिब ५० मिटर पूर्वतर्फ नाला निर्माण नगरिएकाले वर्षायाममा पानी सडकमै बग्ने गर्छ । उकालो सडकमा ठूला गाडी फस्ने गरेका कारण राजमार्ग अवरुद्ध हुने समस्या बारम्बार दोहोरिने गरेको इलाका प्रहरी कार्यालय दुम्कीबासले जनाएको छ ।
Facebook Comment