औजारदेखि आस्थासम्म : विश्वकर्मा जयन्तीको विशेष महिमा

काठमाडौं । हरेक वर्ष असोज १ गते विश्वकर्मा जयन्तीलाई धार्मिक पर्वका रूपमा मनाउने परम्परा छ। कन्या संक्रान्ति अर्थात् सूर्यदेव कन्या राशिमा प्रवेश गर्ने दिनलाई विशेषगरी भगवान् विश्वकर्माको पूजा–आराधना गर्ने दिनका रूपमा लिइन्छ।

विश्वकर्मा देवलाई हातहतियार, औजार तथा मेसिनरी सामानका प्रमुख देवता मानिन्छ। धार्मिक मान्यताअनुसार उनले देवताका लागि हतियार, भवन र मन्दिर निर्माण गरेका थिए। ब्रह्माण्डको सृष्टिमा ब्रह्मालाई सहयोग गरेको कारणले पनि उनी साक्षात् भगवानकै रूपमा पूजनीय छन्।

विश्वभर निर्माण भएका कलकारखाना, शिल्पकला र देवलिपि शैलीका मन्दिरहरूलाई विश्वकर्माको सिद्धि तथा प्रसन्नताको प्रतीकका रूपमा लिइन्छ। यस दिन गरिएको पूजा, भजन–कीर्तन र आराधनाले मनोकामना पूर्ण हुन्छ भन्ने विश्वास रहिआएको छ।

पूजाको विधिमा विश्वकर्माको चित्र वा मूर्ति राखी सजावट गरिन्छ। दियो, कलश, गणेशको प्रतिमा स्थापना गरी धूप–दीप, नैवैद्य, अबिर, फूल, दुवो र शुद्ध जल अर्पण गरिन्छ। घण्टा, शंख र चमर बजाउँदै भक्तजनले आराधना गर्छन्। पूजापछि प्रसाद वितरण गरिन्छ र भोलिपल्ट देवप्रतिमालाई नदी, ताल वा पोखरीमा विसर्जन गर्ने प्रचलन छ।

तराई, पहाड र मधेशमा पूजा गर्ने परम्परा केही फरक देखिन्छ। पहाडमा सामान्य विधिअनुसार पूजा गर्ने चलन छ भने तराईमा यसलाई भव्य उत्सवका रूपमा मनाइन्छ। विशेषगरी मेसिनरी काम, सवारी–साधन मर्मत तथा कारखानासँग सम्बन्धित व्यक्तिहरूले यस दिनलाई धुमधामका साथ मनाउने गरेका छन्।

विश्वकर्मा जयन्तीलाई श्रम, सीप र सृष्टिको सम्मान गर्ने दिनका रूपमा पनि लिइन्छ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *