देशभर बदली, पहाडी र तराईका केही क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान नजिकै भारततर्फ अवस्थित रहेको जानकारी दिएको छ। यससँगै अरब सागर र बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभाव नेपालमा देखिएको विभागले जनाएको छ।
यसै कारण बुधबार देशभर सामान्यतया बदली रहने विभागको पूर्वानुमान छ। बागमती र लुम्बिनी प्रदेशसहितका पहाडी भू–भागका केही स्थानमा तथा बाँकी क्षेत्रमा थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको विभागले जनाएको छ। कोशी, बागमती र कर्णाली प्रदेशका पहाडी भू–भाग तथा लुम्बिनी प्रदेशका तराईका एक–दुई स्थानमा भारी वर्षा पर्ने सम्भावना छ।
बुधबार राति पनि कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित देशका अधिकांश पहाडी भू–भागमा सामान्य बदली रहनेछ भने अन्य क्षेत्रमा आंशिक बदली हुने अनुमान गरिएको छ।
यस अवधिमा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने छ। त्यस्तै, मधेस प्रदेश, कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षा हुने पूर्वानुमान गरिएको छ।
विभागले वर्षा बढ्ने क्रम जारी रहने भएकाले आवश्यक सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ।
Facebook Comment