दसैँ तिहारका लागि अग्रिम टिकट बुकिङ नखोलिने, यात्रुलाई सहज बनाउन विशेष व्यवस्था

काठमाडौं । यस वर्ष दसैँ तिहार लगायतका चाडपर्वका लागि अग्रिम टिकट बुकिङ नखोलिने भएको छ । मंगलबार मीनभवनस्थित यातायात व्यवस्था विभागमा बसेको बैठकले यात्रुहरू जिल्लातर्फ फर्कने क्रम सुरु भइसकेकाले अग्रिम टिकट बुकिङ आवश्यक नपर्ने निष्कर्ष निकालेको हो ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजयबहादुर स्वाँरका अनुसार ‘जेनजी’ आन्दोलनपछि विश्वविद्यालय तथा कलेजहरू बिदा भएका कारण हजारौँ विद्यार्थी र अन्य यात्रु पहिले नै घर फर्किसकेका छन् । ‘गोंगबु बसपार्कबाट मात्र करिब ५० हजार मानिस बाहिरिसकेको तथ्यांक छ, त्यसैले अग्रिम बुकिङ खोल्नुपर्ने अवस्था छैन,’ स्वाँरले बताए । उनका अनुसार यात्रुले आफ्नो यात्राभन्दा तीन चार दिनअघि नै सहजै टिकट लिन सक्ने व्यवस्था गरिएको छ ।

यस्तै, सडकका कतिपय भाग बिग्रिएको भन्दै सडक विभागलगायतका निकायसँग सहकार्य गरेर मर्मत र सहज आवागमनको तयारी भइरहेको जानकारी स्वाँरले दिए । उनले उपत्यकाबाट पर्याप्त संख्यामा गाडी परिचालन गर्ने र आवश्यक परेमा काठमाडौंका स्थानीय गाडीलाई समेत व्यवस्थापन गरेर जिल्लातर्फ पठाइने बताए ।

यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलले यात्रुलाई गन्तव्यसम्म सहज ढंगले पु¥याउन सबै पक्ष तयार रहेको स्पष्ट पारे । उनले ‘यात्रामा कुनै कमी हुन दिने छैनौँ,’भन्दै सुरक्षा, गाडी व्यवस्थापन र सहजीकरणमा उच्च प्राथमिकता दिने बताए ।

त्यसैगरी, जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी वसन्त रजौरेले यात्रुलाई ठग्न खोज्नेहरूमाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् । ‘यात्रुलाई गन्तव्यमा लैजाने असल नियत हुनुपर्छ । यही बेला कमाउने लोभमा ठगी गर्ने मानसिकता स्वीकार्य हुँदैन,’ उनले चेतावनी दिए ।

यसरी, यस वर्ष दसैँ तिहारमा अग्रिम बुकिङ नखोलिने भए पनि यात्रुले समयमै टिकट पाउने र सुरक्षित यात्राको ग्यारेन्टी गर्ने तयारी सरकारले गरेको जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *