जेनजी आन्दोलनका शहीदको सामूहिक शवयात्रा, राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

काठमाडौं । भदौ २३ र २४ गते भ्रष्टाचारविरोधी जेनजी आन्दोलनमा प्रहरी कारबाहीका क्रममा ज्यान गुमाएका शहीदहरूको आज राजधानीमा सामूहिक शवयात्रा निकालिएको छ ।

महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ)बाट सुरु भएको शवयात्रा चक्रपथ परिक्रमा गर्दै पशुपति आर्यघाटसम्म पुगेको थियो । शहिदहरूको बलिदानप्रति सम्मान जनाउँदै राजधानीका नागरिक, नेता, कार्यकर्ता र परिवारजनको उपस्थितिमा राष्ट्रिय भावनासहित अन्त्येष्टि गरिएको हो ।

टिचिङ अस्पतालमा उपचारकै क्रममा मृत्यु भएका १० जनाको शवयात्रा निकालिएको जनाइएको छ । तीमध्ये ६ जनाको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत उनीहरूको गृह जिल्ला पठाइनेछ भने बाँकी ४ जनाको पशुपति आर्यघाटमा सामूहिक अन्त्येष्टि गरिएको हो ।

यस्तै, राजधानी बाहिरका शहीदहरूको शव गाउँसम्म पुर्‍याउन नेपाली सेनाको हेलिकोप्टर परिचालन गरिएको छ ।

सडकभरि पुष्पवर्षा, नाराबाजी र मौन श्रद्धाञ्जलिसहित सम्पन्न शवयात्रामा जनसागरको उपस्थितिले आन्दोलनका शहीदहरूको बलिदानलाई राष्ट्रिय चेतनामा रूपान्तरण गरेको देखिएको छ ।

 




Leave a Reply

Your email address will not be published. Required fields are marked *