असोज १ मा सार्वजनिक बिदा, जेनजी सहिदप्रति राष्ट्रिय श्रद्धाञ्जली
काठमाडौं । सरकारले आगामी असोज १ गते (बुधबार) शोक दिवसका रूपमा मनाउने निर्णय गरेको छ। मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाप्रति सम्मान व्यक्त गर्दै उनीहरूलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो।
गृहमन्त्री ओमप्रकाश अर्यालका अनुसार उक्त दिन सार्वजनिक बिदा दिइने छ। साथै, सहिद घोषणा गरिएका युवाको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिने भएको छ।
सरकारले पीडित परिवारलाई राहतस्वरूप १५ लाख रुपैयाँ दिने निर्णय गरेको छ। यसअघि १० लाख दिने घोषणा गरिएकोमा मन्त्रिपरिषद्ले थप पाँच लाख दिने निर्णय गरेको हो।
त्यसैगरी, आन्दोलनका घटनाको छानबिनका लागि उच्चस्तरीय न्यायिक जाँचबुझ आयोग गठन गर्ने, जेनजी आन्दोलनमा ज्यान गुमाएका युवाहरूको सम्झनामा स्मारक पार्क निर्माण गर्ने र क्षति भएका संरचनाको पुनर्निर्माणका लागि विशेष कोष खडा गर्ने निर्णय समेत बैठकले गरेको छ।
प्रहरी प्रधान कार्यालयले पनि आन्दोलनका क्रममा ज्यान गुमाएका सुरक्षाकर्मीका परिवारलाई १० लाख रुपैयाँ राहत दिने निर्णय गरेको छ। प्रहरी प्रवक्ता विनोद घिमिरेका अनुसार उक्त रकम प्रहरी प्रधान कार्यालयका कर्मचारीको तलब कट्टा गरेर उपलब्ध गराइनेछ।
Facebook Comment