एसिया कपमा भारत विजयी : पाकिस्तान ७ विकेटले पराजित, सेमिफाइनल लगभग पक्का

काठमाडौं । एसिया कप २०२५ को समूह ‘ए’ अन्तर्गत भारतले चिरप्रतिद्वन्द्वी पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै लगातार दोस्रो जित दर्ता गरेको छ । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको रोमाञ्चक खेलमा भारतले सहज विजय हात पारेको हो ।

पाकिस्तानको कमजोर ब्याटिङ

पहिले टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२७ रन मात्रै बनाउन सक्यो । पाकिस्तानका लागि सहीबजादा फरानले ४४ बलमा १ चौका र ३ छक्का प्रहार गर्दै सर्वाधिक ४० रन जोडे । साहिन शाह अफ्रिदी ३३ रनमा अविजित रहे भने अन्य खेलाडी उल्लेखनीय योगदान दिन सकेनन् ।

भारतको सहज रन–चेइस

१ सय २८ रनको लक्ष्य पछ्याएको भारतले आक्रमक सुरुवात गर्दै १५.५ ओभरमै ३ विकेट गुमाएर १३१ रन बनाउँदै जित दर्ता गर्‍यो । भारतका लागि ओपनर अभिषेक शर्माले १३ बलमै ३१ रन प्रहार गर्दै आक्रामक सुरुवात गरे । कप्तान सूर्यकुमार यादवले ३७ बलमा ५ चौका र १ छक्का प्रहारसहित अविजित ४७ रनको इनिङ्स खेले । तिलक वर्माले ३१ रन जोडे भने शुभम दुबे १० रनमा अविजित रहे ।

बलिङतर्फ भारतको दबदबा

भारतका लागि कुलदीप यादवले शानदार बलिङ गर्दै ४ ओभरमा १८ रन खर्चेर ३ विकेट झारे । जसप्रीत बुमराह र अक्षर पटेलले २–२ विकेट लिए भने हार्दिक पाण्ड्या र वरुण चक्रवर्तीले १–१ विकेट योगदान दिए । पाकिस्तानतर्फ शैम अयुबले ३ विकेट लिन सफल भए ।

अंकतालिकामा भारत मजबुत

लगातार दुई जितसँगै भारत समूह ‘ए’ मा शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा युएईलाई ९ विकेटले हराएको भारतले दोस्रो खेलमा पाकिस्तानलाई हराउँदै सेमिफाइनल प्रवेश लगभग सुनिश्चित गरेको छ ।
पाकिस्तान दुई खेलमा एक जित र एक हारसहित दोस्रो स्थानमा छ । त्यस्तै, ओमान र युएईले हालसम्म जित हात पार्न सकेका छैनन् ।

समूह ‘बी’ मा अफगानिस्तान शीर्षस्थानमा रहेको छ भने श्रीलंका उसलाई पछ्याइरहेको छ । बंगलादेश तेस्रो स्थानमा छ भने हङकङ दुई खेलमै हार बेहोरेर अन्तिम स्थानमा छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *