मनसुन सक्रिय : गण्डकी, लुम्बिनी र सुदूरपश्चिममा ठूलो वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानमा आज दिनभर वर्षा हुने मौसम पूर्वानुमान जल तथा मौसम विज्ञान विभागले जनाएको छ । राजधानी काठमाडौंमा बिहानैदेखि वर्षा भइरहेको छ भने दिउँसो पनि देशभर सामान्यतया बदली रहने प्रक्षेपण गरिएको छ ।

विभागका अनुसार लुम्बिनी प्रदेशसहित देशका अधिकांश पहाडी भू–भागमा र तराईका केही स्थानमा मध्यम वर्षाको सम्भावना छ । साथै, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा तथा कोसी र वाग्मती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुन सक्ने अनुमान छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई क्षेत्रमा भने धेरै भारी वर्षा पर्न सक्ने चेतावनी दिइएको छ ।

राति पनि देशभर सामान्यतया बदली रहने विभागले जनाएको छ । यस अवधिमा कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ भने अन्य प्रदेशका केही स्थानमा समेत वर्षा हुन सक्छ । गण्डकी र लुम्बिनीका थोरै स्थानमा तथा कोसी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पूर्वानुमान गरिएको छ । यस्तै, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही क्षेत्रमा धेरै भारी वर्षा पर्न सक्ने सम्भावना विभागले जनाएको छ ।

हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थान आसपासमै सक्रिय रहेको विभागको भनाइ छ । साथै, अरब सागर र बंगालको खाडीबाट आउने जलवाष्पयुक्त हावाको प्रभावले देशका विभिन्न स्थानमा धेरै भारी वर्षाको सम्भावना अझ बढेको विभागले जनाएको छ ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *