काभ्रेपलाञ्चोकमा स्रोत नखुलेको नगद र सुनसहित युवक पक्राउ

काठमाडौं । नमोबुद्द नगरपालिका–२, भकुण्डेबेसीबाट स्रोत नखुलेको नगद र सुनसहित एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रमुख एसपी कोमल शाहका अनुसार, काठमाडौंबाट सिरहा जाँदै गरेको बा प्र १–००६ ख ९१७३ नम्बरको इभी गाडीमा गमरिया नगरपालिका–२ का २८ वर्षीय नरेशकुमार यादवको झोला खानतलासी गर्दा ३ लाख ५० हजार ३ सय रुपैयाँ नगद र १२ लाख २६ हजार रुपैयाँ बराबरको सुनका गहना बरामद गरिएको हो।

बरामद सुनमा छड्के तिलहरी एक थान (७५ लाल, मूल्य १,६१,८८८ रुपैयाँ), मङ्गलसुत्र एक थान (१२.६ लाल, मूल्य २,५९,१२१ रुपैयाँ), बेरुवा औंठी एक थान (६३.३ लाल, मूल्य ३,००,९८५ रुपैयाँ) र सिक्री तीन थान (२.३२ तोला, मूल्य ५,००,१२५ रुपैयाँ) समावेश छन्।

सोमबार र मङ्गलबार काठमाडौँमा भएको जेन–जी आन्दोलनका क्रममा विभिन्न लुटपाट भएका खबरका बीच प्रहरीले स्रोत नखुलेको नगद र सुन बरामद गरेको हो।

जिल्ला प्रहरी कार्यालय काभ्रेका अनुसार, सक्कली कागजातसहित आफ्नो सम्पत्ति हराएको प्रमाणित गर्नेहरू प्रहरीसँग सम्पर्क गर्न सक्नेछन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *