गोरखामा फरार कैदीबन्दी ६ जना पक्राउ
काठमाडौं । तनहुँ र कास्की कारागारबाट फरार भएका ६ जना कैदीबन्दीलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ। कास्की कारागारबाट भागेका पाँच र तनहुँ कारागारबाट भागेका एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ।
प्रहरीका अनुसार, पक्राउ पर्ने चार जना चुमनुब्री गाउँपालिका–६, चुम्चेतका कैदी हुन्। कास्की कारागारबाट भदौ २४ गते फरार भएका सोनाम दोर्जे लामा, छेवाङ लामा, सोनाम ग्याल्जेन लामा र तेञ्जिन रिग्जेन लामालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार, कर्तव्य ज्यानसम्बन्धी मुद्दामा सजाय भोगिरहेका छेवाङ, सोनाम ग्याल्जेन र तेञ्जिन रिग्जेनलाई भदौ २५ गते र सोनाम दोर्जेलाई भदौ २६ गते नियन्त्रणमा लिइएको हो। उनीहरू चारै जनाले २०७४ कात्तिक २० देखि चुम्चेतकी महिलाको हत्या आरोपमा कास्की कारागारमा सजाय भोग्दै आएका थिए।
त्यसैगरी, कास्की कारागारबाट फरार भएका भीमसेन थापा–१ मसेलका राजेश विश्व सुनारलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। कर्तव्य ज्यान मुद्दामा २०७५ असारदेखि कैद सजाय भोगिरहेका विश्व पनि भदौ २४ गते गोरखा आएका थिए।
यसैगरी, तनहुँ कारागारबाट फरार भएका सिरानचोक गाउँपालिका–८ का विशाल उपरकोटीलाई पनि प्रहरीले शुक्रबार गोरखाबाटै पक्राउ गरेको छ। चोरी मुद्दामा वैशाख १२ देखि कैद भोग्दै आएका उनी पनि भदौ २४ गते फरार भएका थिए।
डीएसपी सुवेदीका अनुसार, फरार कैदीबन्दीको नियन्त्रणले स्थानिय सुरक्षा र कानून व्यवस्था सुदृढ गर्न महत्वपूर्ण भूमिका खेलेको छ।
Facebook Comment