नक्खु कारागारले फरार बन्दीलाई सम्पर्कमा आउन अपिल गर्‍यो

काठमाडौं । ललितपुरको नक्खु कारागार प्रशासनले जेनजी आन्दोलनको क्रममा जेलबाट फरार भएका बन्दीहरूलाई अविलम्ब सम्पर्कमा आउन औपचारिक अनुरोध गरेको छ।

कारागार प्रशासनले जारी गरेको सूचनामा कानुनी प्रक्रिया र विधिको पूर्ण पालनाको महत्व औंल्याउँदै, फरार बन्दीहरूले तुरुन्तै सम्पर्कमा आउन अपिल गरिएको छ।

जेनजी आन्दोलन हिंसात्मक बन्दै गएपछि रास्वपा सभापति रवि लामिछानेसहितका कैदीहरू नक्खु जेलबाट बाहिरिएका थिए। लामिछानेले आफूलाई कारागार प्रशासनले प्रक्रिया पूरा गरेर छाडेको दाबी गरेका थिए।

तर नक्खु कारागार प्रशासनले स्पष्ट पारेको छ कि नक्खु कारागार परिसरबाट फरार भएका सम्पूर्ण बन्दीहरू (थुनुवा र कैदी) तुरुन्तै सम्पर्कमा आउनुपर्छ। नआएमा फरार अवस्थाको निरन्तरता रहने र कानुनले तोकेको सजाय कडाइका साथ कार्यान्वयन गरिने चेतावनी दिइएको छ।

सूचनामा भनिएको छ,

“अत: विधि, कानुन र सामाजिक उत्तरदायित्वप्रति सम्मान प्रकट गर्दै तुरुन्तै कारागार प्रशासनसँग सम्पर्क स्थापना गरी आत्मसमर्पण गर्न र सार्वजनिक शान्ति तथा सुव्यवस्था कायम गर्न सक्रिय सहयोग पुर्‍याउन सम्पूर्ण फरार कैदी–बन्दीहरूलाई यसै सूचना मार्फत औपचारिक अपिल गरिन्छ। साथै सम्पर्कमा नआएका बन्दीलाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन अनुसार कारबाही हुने व्यहोरा जानकारी गराइन्छ।”




Leave a Reply

Your email address will not be published. Required fields are marked *