उपत्यकामा दिउँसो कफ्र्यु खुकुलो, बेलुकी पुनः कडाइ
काठमाडौं । नेपाली सेनाले काठमाडौं उपत्यकामा दिउँसोको कर्फ्यु खुकुलो बनाएको छ। सेनाले जारी गरेको सूचनाअनुसार आज बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म कर्फ्यु हटाइएकाले नागरिकलाई सामान्य आवतजावतको अनुमति दिइएको हो।
तर, आज बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म भने पुनः कर्फ्यु आदेश लागू हुनेछ। यस अवधिमा सार्वजनिक आवागमन, भीडभाड तथा सभा–जुलुसमा कडाइ गरिने जनाएको छ।
साथै, निषेधाज्ञा पनि आंशिक रूपमा खुकुलो पारिएको छ। बिहान ११ बजेसम्म निषेधाज्ञा हटाइएपनि ११ बजेदेखि साँझ ५ बजेसम्म पुनः लागू हुने सूचना सेनाले प्रकाशित गरेको छ।
जेनजी आन्दोलनका क्रममा भदौ २३ गते भएको प्रदर्शन हिंसात्मक बनेपछि २४ गते राति १० बजेदेखि नेपाली सेनाले सुरक्षा कमाण्ड सम्हालेको हो। त्यसयता सुरुमा देशभर जारी गरिएको कर्फ्युलाई क्रमशः खुकुलो पार्दै अहिले काठमाडौं उपत्यकामा मात्र सीमित गरिएको छ। उपत्यका बाहिरका केही जिल्लामा भने जिल्ला प्रशासन कार्यालयमार्फत कर्फ्यु र निषेधाज्ञा जारी रहेका छन्।
कर्फ्यु र निषेधाज्ञा खुकुलो भएपछि उपत्यकाको जनजीवन क्रमशः सामान्यतर्फ उन्मुख भएको देखिन्छ। अघिल्लो दिनको तुलनामा आज बिहान सवारीसाधन र सर्वसाधारणको चहलपहल उल्लेख्य रूपमा बढेको छ।
सुरक्षाकर्मीहरूले विद्यमान आदेशको पालना गर्न आग्रह गर्दै, भीडभाड र अफवाहबाट टाढा रहन जनतालाई सतर्क गराएका छन्।
Facebook Comment