जेनजी प्रदर्शनमा प्रहरीको गोली: २० वर्षीय युवकसहित दुईको मृत्यु, काठमाडौँमा कर्फ्यु

काठमाडौं । जेन–जी पुस्ताको प्रदर्शन प्रहरीसँगको झडपमा हिंस्रक बन्दै गएपछि गोली लागेर घाइते भएका २० वर्षीय युवकको अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ। अस्पताल कर्मचारी युनियनका अध्यक्ष सन्तोष धिमालले जानकारी दिएका छन्।

प्रहरीको गोली लागेर गम्भीर अवस्थामा अस्पताल ल्याइएको ती युवकको इमर्जेन्सी कक्षमा उपचार भइरहेको बेलामा केहीबेर अगाडि ज्यान गएको हो। अस्पताल स्रोतले उनका परिचय खुल्न नसकेको जनाएको छ।

यसअघि सिभिल अस्पतालमै प्रदर्शनका क्रममा घाइते भएका करिब ४४–४५ वर्षीय पुरुषको पनि मृत्यु भएको थियो। उनका शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको छ।

घटनाका क्रममा केही प्रदर्शनकारी संघीय संसद् परिसरभित्र प्रवेश गरेपछि स्थिति नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास, पानीको फोहरा र रबरको गोली प्रयोग गरेको थियो। प्रहरी र प्रदर्शनकारी दुवै घाइते भएका छन्। घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। त्यस्तै, केही सञ्चारकर्मी पनि घाइते भएका छन्।

प्रदर्शन नियन्त्रणबाहिर गएपछि स्थानीय प्रशासनले काठमाडौँका विभिन्न क्षेत्रमा कर्फ्यु आदेश जारी गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका अनुसार कर्फ्यु आज अपराह्न १ बजेदेखि राति १० बजेसम्म लागू हुनेछ। कर्फ्यु लागू हुने क्षेत्रहरूमा नयाँबानेश्वर आसपास, शीतल निवास (राष्ट्रपति कार्यालय), हरित गृह (उपराष्ट्रपति कार्यालय), नारायणहिटी दरबार सङ्ग्रहालय, केशर महल चोकदेखि जयनेपालमोड र महेन्द्र सालिकसम्म, र सिंहदरबार क्षेत्र वरिपरि रहेका स्थानहरू समावेश छन्।




Leave a Reply

Your email address will not be published. Required fields are marked *