कोशी प्रदेश मन्त्री रानाको गाडीको ठक्करबाट घाइते बालिका अस्पतालबाट डिस्चार्ज
काठमाडौं । कोशी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री राम राना चढेको गाडीको ठक्करबाट घाइते भएकी ११ वर्षीया बालिका अस्पतालबाट डिस्चार्ज भएकी छन्।
नेकपा एमालेको विधान महाधिवेशनमा सहभागी हुन आएका मन्त्री राना सवार गाडीले शनिबार बिहान ललितपुरको हरिसिद्धि स्थित घुम्तीमा बालिकालाई ठक्कर दिएको थियो। गोदावरीमा शुक्रबारदेखि सुरु भएको विधान महाधिवेशनका लागि आएका रानाको गाडीले बालिकालाई ठक्कर दिएर रोक्ने काम नगरी अघि बढेको भन्दै आलोचना भैरहेको छ।
साँघुरो सडकमा तीव्र गतिमा गाडी चलाइएको र बालिकालाई ठक्कर दिइएको भन्ने विषयले सामाजिक सञ्जाल र सञ्चारमाध्यममा ध्यान खिचेको थियो। पछि एमालेले बालिकाको सम्पूर्ण उपचार खर्च आफूहरूले व्यहोर्ने स्पष्ट पारेको थियो।
ललितपुरका प्रहरी उपरीक्षक चक्र जोशीले बालिकाको उपचार ग्वार्कोस्थित बीएनबी अस्पतालमा सम्पन्न भएको र घर फर्काइएको जानकारी दिए। ठक्करबाट ठूलो चोट नलागेको र बालिकाको स्वास्थ्य अवस्था सामान्य रहेको उनले बताए।
Facebook Comment