‘मलाई बोल्नभन्दा फाइट गर्न आउँछ’: रवीन्द्र ढाँट
काठमाडौं । नेपाली मिक्स्ड मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले आफूले अझै धेरै फाइटका टेक्निक सिक्न बाँकी रहेको बताएका छन् ।
रोहिनी इन्टरनेशल एजुकेशन सर्भिसेसको ब्राण्ड एम्बेस्डरमा अनुबन्धित भएपछि आफ्नो अनुभव सुनाउँदै ढाँटले भने, ‘म भारतको प्रतिष्ठित ‘म्याट्रिक्स फाइट नाइट’ मा विजयी भएर आएपछि धेरै बोल्न लगाउनु हुन्छ । मलाई खासै बोल्न त आउँदैन । म फाइटर हुँ । बोल्नभन्दा फाइट गर्न आउँछ । तर व्यवसायिक फाइट खेल्ने आवश्यक धेरै टेक्निक र सीप सिक्न नै बाँकी छ ।’
उनले विश्वमा नेपालको नाम राख्ने गरी फाइटर बन्ने सपनालाई पूरा गर्न आफ्ना प्रशिक्षक दिवेशप्रिय लामा भगवानका रुपमा आफूले पाएको बताएका छन् । उनले भने, ‘मैले देखेको सपना पूरा गर्न दिवेशप्रिय लामासँगको भेट पनि ठूलो मार्ग बन्यो । उहाँको साथ र सहयोगले मलाई आज यो उचाइमा पुर्याएको छ । आगामी यात्रामा जान तपाईंहरूको साथ र सहयोग आवश्यक छ ।’ स्टेजबाट उनले सिसन बानियाँलाई पनि सम्झिएका थिए । उनले भने, ‘यहाँ सिसन बानियाँ हुनुहुन्छ । मेरो यात्रालाई सहज बनाउने र मैले नबिर्सने नाम सिसन बानियाँ पनि हो ।’
आगामी बाटो अझै संघर्षपूर्ण रहेको बताउँदै उनले त्यो संघर्षलाई तपाईंहरूको हौसलाले साथ मिल्छ भन्दै सबै नेपालीलाई धन्यवाद दिए ।
यता उनका प्रशिक्षक लामाले रवीन्द्रलाई भेट्दा आफ्ना सपना पूरा गर्न सकिने देखेर उनको यात्रामा सँगै होमिकएको बताएका छन् ।
उनले भने, ‘रविन्द्र र म जब भेट्यौँ मेरो सपना अब पूरा हुन्छ जस्तो लाग्यो । त्यो सपना पूरा गर्न हामी सँगसँगै भयौँ । मैले रविन्द्रभित्र म देखेँ’
‘धेरै कुरा गरेर काम छैन । हामीले हामीसँग भएको क्षमता देखाउन आवश्यक छ । त्यो क्षमता हामी आफैँमा भएको दृढ विश्वाससँगकै संघर्षले मात्र पूरा हुन सक्छ । खेलमा यसो गर्ने भन्ने कुनै नियम हुँदैन । आफैँले जानेर गर्ने कुरा धेरै हुन्छन् । ब्लू प्रिन्ट हुँदैन । यो गरे यो हुन्छ भन्ने छैन । नयाँ कुराको प्रयोग खेलमा आफैँ प्रयोग गर्नुपर्छ ।’
सबैले रविन्द्रलाई बझाङको बाघ भन्छन् भन्दै लामाले भने, ‘सबैले उसलाई बझाङको बाघ भन्छ । तर यसको छाला चाहिँ गैडाको छ । यो सँग भएको क्षमताले पक्कै पनि एक दिन हामी नयाँ उत्सवपूर्ण इतिहास मनाउनेछौँ ।’
Facebook Comment