बाढीपहिरोले १२ राजमार्ग ठप्प, १६० राजमार्ग एकतर्फी सञ्चालनमा
काठमाडौं । अविरल वर्षापछि आएको बाढीपहिरोका कारण देशभरका १२ राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएका छन् भने १६० राजमार्ग एकतर्फी सञ्चालनमा रहेका सडक विभागले जनाएको छ।
विभागका अनुसार ठोरी–भण्डारा–मलेखु, गल्छी–त्रिशूली–वेत्रावती–मैलुङ–स्यफ्रुबेँसी–रसुवागढी सडकखण्ड पूर्ण रूपमा बन्द भएको छ। यस्तै, जमुनाहा–नेपालगञ्ज–कोहलपुर–सुर्खेत–खुलालु–हिल्सा (कर्णाली राजमार्ग) पनि अवरुद्ध छ।
पूर्वका राजमार्गमध्ये रानी–विराटनगर–इटहरी–धरान–धनकुटा–हिले सडक तथा लेघुवाघाट–तुम्लिङ्गटार–खाँदबारी–नुम–किमाथांका (कोशी राजमार्ग) पूर्ण रूपमा अवरुद्ध छन्। वरुण नदीमा डाइभर्सन बगाएपछि चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक (तमोर करिडोर) बन्द भएको विभागले जनाएको छ।
यस्तै, छिन्चु–कुदु–जाजरकोट–दुनै–धो–तिन्जे–मरिम (भेरी करिडोर), कोइलाबास–लमही, अर्जुनखोला–घोराही–होलेरी–घर्तिगाउँ–थवाङ–लुकुम (शहीद मार्ग), सुर्खेत–तल्लो डुङ्गेश्वर–सातखम्बा–दुल्लु–पिपलकोट–खुलालु–मान्मा–नाग्मा–जुम्ला सडक पनि अवरुद्ध भएका छन्।
सडक निर्माण कार्य भइरहेका कारण काठमाडौँ–धुलिखेल–दोलालघाट–खाडीचौर–कोदारी (अरनिको राजमार्ग) समेत बन्द भएको छ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका प्रवक्ता भीमार्जुन अधिकारीले अवरुद्ध राजमार्ग चाँडोभन्दा चाँडो सञ्चालनमा ल्याउने प्रयास भइरहेको जानकारी दिएका छन्।
Facebook Comment