“निष्पक्षता र योग्यतामा अडिग छ आयोग” : अध्यक्ष रेग्मी
काठमाडौं । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगलाई सबै नागरिकले विश्वास गर्ने संस्था बनाउन निरन्तर प्रतिबद्ध रहेको बताएका छन् । आयोगको हीरक जयन्ती वर्ष–२०८२ का अवसरमा सञ्चालित ‘विद्यार्थीमाझ लोकसेवा आयोग’ कार्यक्रमअन्तर्गत आज धनगढीमा आयोजित कार्यक्रममा उनले निष्पक्षता, स्वच्छता र योग्यतालाई आयोगले कहिल्यै सम्झौता नगर्ने बताए ।
रेग्मीले जानकारी दिए कि आयोगले हरेक वर्ष निजामती सेवातर्फ करिब ४ हजार र अन्य संगठित संस्थातर्फ करिब १५ हजार योग्य उम्मेदवारको छनोट गरी सिफारिस गर्दै आएको छ । उनले भने, “हामीलाई संख्या होइन, गुणस्तरीय र प्रतिबद्ध प्रतिस्पर्धीहरू आवश्यक छन् ।”
आयोगको कामप्रति प्रशंसा
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपाल हमाल र सुदूरपश्चिम प्रदेश सरकारका प्रमुख सचिव डा. कमलप्रसाद पोखरेलले कार्यक्रमलाई सम्बोधन गर्दै आयोगले देखाएको निष्पक्षता र स्वच्छ कार्यप्रणालीको उच्च मूल्याङ्कन गरे । उनीहरूको भनाइमा, आयोगले अवसर र प्रतिस्पर्धामा समान पहुँच सुनिश्चित गरेर नागरिकको भरोसा जित्न सफल भएको छ ।
विद्यार्थी केन्द्रित कार्यक्रम
‘विद्यार्थीमाझ लोकसेवा आयोग’ शीर्षकमा आयोजना गरिएको कार्यक्रममा आयोगसम्बन्धी वृत्तचित्र देखाइयो र विभिन्न कार्यपत्र प्रस्तुत गरियो । विद्यार्थीमार्फत आयोगको उद्देश्य र सन्देशलाई फैलाएर सार्वजनिक सेवाप्रतिको आकर्षण बढाउने लक्ष्य यस कार्यक्रमको रहेको छ ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानीय तहका विद्यार्थीहरू सक्रिय सहभागिता जनाएका थिए ।
Facebook Comment