प्रधानमन्त्री ओली चीन भ्रमण पूरा गरी स्वदेश फर्किँदै, विश्व नेतासँग भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनको औपचारिक भ्रमण सम्पन्न गरी बुधबार स्वदेश प्रस्थान गरेका छन्। उनी चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा यही भदौ १४ गते भ्रमणका लागि प्रस्थान गरेका थिए।

प्रधानमन्त्री ओलीलाई बेइजिङस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चिनियाँ उच्च अधिकारीहरू, नेपालका लागि चीनका राजदूत, चीनका लागि नेपाली राजदूत लगायतले बिदाइ गरेका थिए।

भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिनुका साथै ८०औँ विजय उत्सवको विशेष सैनिक परेडमा पनि सहभागी भएका थिए। एससीओ सम्मेलनमा उनले चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रुसका राष्ट्रपति भ्लादिमीर पुटिन लगायत विश्वका विभिन्न नेतासँग छुट्टाछुट्टै भेटवार्ता गरेका थिए।

प्रधानमन्त्री ओली यही भदौ १६ गते तियान्जिनमा आयोजित शिखर सम्मेलनमा सम्बोधन पनि गरेका थिए। नेपाल सन् २०१६ देखि एससीओको संवाद साझेदार रहेको छ।

प्रधानमन्त्री ओलीसँग धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेसका सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, एमालेका सांसद छविलाल विश्वकर्मा लगायत उच्चस्तरीय सरकारी प्रतिनिधिहरू पनि उपस्थित थिए।




Leave a Reply

Your email address will not be published. Required fields are marked *