उखु किसानको सम्मान सुनिश्चित गर्न सरकारसँग माग, सांसद चौधरीको जोड

काठमाडौं । नेपाली कांग्रेसका सांसद विनोद चौधरीले उखु किसानमैत्री नीति तत्काल कार्यान्वयन गरी किसानको श्रमको उचित मूल्य सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।

प्रतिनिधि सभाको बुधबारको शून्य समयमा बोल्दै उनले सरकारले आफैँ गरेको निर्णयबाट विमुख नहुनुपर्ने र विगतदेखि प्रदान हुँदै आएको अनुदान रकम तत्काल उपलब्ध गराउनुपर्ने कुरा उल्लेख गरे।

सांसद चौधरीले भने, “विगतमा सरकारले उखु किसानलाई प्रति क्विन्टल ७० रुपैयाँको अनुदान उपलब्ध गराउँदै आएको थियो। तर हाल अनुदान कटौती भएपछि किसानहरू आन्दोलित हुनु स्वाभाविक छ। सरकारको यो कदमले पीडा मात्रै बढाएको छ।”

उनले थपे, “उत्पादन खर्च धान्नै मुस्किल भइरहेका अवस्थामा न्यूनतम आम्दानी सुनिश्चित गर्न नसक्नु किसानको जीवनमा थप चुनौती सिर्जना गरेको छ। सरकारले उखु किसानको श्रम र उत्पादनको मूल्याङ्कनमा प्राथमिकता दिनु आवश्यक छ।”




Leave a Reply

Your email address will not be published. Required fields are marked *