कार दुर्घटनामा इण्डियन आइडल पवनदीप गम्भीर घाइते

मुम्बई(एजेन्सी) । भारतीय गायन रियालिटी शो ‘इण्डियन आइडल १२’ विजेता तथा गायक पवनदीप राजन सोमबार भारतको अहमदाबादमा कार दुर्घटनामा परेका छन् । दुर्घटनामा उनी गम्भीर घाइते भएका छन् । सामाजिक सञ्जालमा उनी दुर्घटनामा परेको एक क्लिप भाइरल भइरहेको छ ।

भिडियोमा उनलाई गम्भीर घाइते देखिएको छ । जहाँ चिकित्सकले उनको उपचार गरिरहेको देख्न सकिन्छ । के कारणले उक्त दुर्घटना भयो भन्ने बारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।

चिकित्सकका अनुसार उनको बाँया खुट्टा र दाहिने हातमा गम्भीर चोट लागेको छ । उनी अहमदाबादको एक अस्पतालमा भर्ना भएका छन् । उनको स्वास्थ्य अवस्था स्थिर रहेको चिकित्सकले बताएका छन् ।

प्रहरीले दुर्घटनाको कारण पत्ता लगाउन अनुसन्धान सुरु गरिसकेको छ । केहीले सडकको खराब अवस्था र रातको समयमा कम भिजिबिलिटीका कारण दुर्घटना भएको बताएका छन् ।

उत्तराखण्डको चम्पात जिल्लाका पवनदीप एक सांगीतिक परिवारको प्रतिनिधित्व गर्छन् । उनका पिता सुरेश राजन, आमा सरोज राजन र बहिनी ज्योतिदीप राजन कुमाउनी लोक कलाकार हुन् । पवनदीप सन् २०१५ मा ‘द भ्वाइस इण्डिया’ जितेर चर्चामा आएका हुन् । उनले सन् २०२१ मा ‘इण्डियन आइडल १२’को ट्रफी, २५ लाख रुपैंयाँ र एक कार जितेका थिए । उनले अरुणिता कान्जीलाल, मोहम्मद दानिश, सायली काम्बले, निहाल तौरो र शनमुख प्रियालाई पराजित गरेका थिए ।




Leave a Reply

Your email address will not be published. Required fields are marked *