गोपी कृष्ण हलमा ‘मारुनी’ भनेर ‘साहो’को टिकट बेचियो – निर्मात्री पुनम गौतम



फिल्म ‘मारुनी’ निर्मात्री पुनम गौतमले फिल्म मारुनीको भनेर ‘साहो’को टिकट बेचेको आरोप लगाएकी छिन् । कलाकारसंगै दर्शकको प्रतिकृया बुझ्न गोपी कृष्ण हल चावहिल पुगेकी उनले गोपी कृष्ण हलमा फिल्म मारुनीको टिकट भनेर बलिउड फिल्म साहोको टिकट दर्शकलाई दिएको बताएकी हुन् ।

बिहानै देखि गोपी कृष्ण हलमा बसेर निरीक्षण गरेकी उनलाई मारुनी फिल्म हेर्न आएका दर्शकले साहोको टिकट दिएको भन्दै हुनासो गरेको बताइन् । ‘७ जना मारुनी हेर्न आउनु भएको रहेछ । उहाँहरुले टिकट कटेर हलमा जाने बेलामा पो बल्ल आफुलाई साहोको टिकट भिडाएर पठाएको थाहा पाउनु भएछ । अनी मलाई आएर भन्नु भयो । मारुनीको टिकट भन्दै साहोको टिकट बेचेको देख्दा यहाँ भित्र पनि अर्कै घोटाला भइरहेको थाहा पाएँ’, पुनमले भनिन् । टिकट काउण्टरमा बसेकाहरुले मारुनी हेर्न आएका दर्शकलाई समेत साहोको टिकट काटेर पठाएको उनले बताइन् ।

उता मारुनी निर्देशक नवल नेपालले गोपी कृष्ण हलले भिडको फाइदा उठाएर केही गडबड गरेको बताए । टिकट काट्ने क्रममा दर्शकलाई अल्मलाएर साहोको टिकट दिँदै पठाएको उनको भनाई थियो ।

नायिका सम्राज्ञी राज्य लक्ष्मी शाह, पुष्प खड्का र रेविका गुरुङको मुख्य भुमिका रहेको मारुनी पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्माण भएको फिल्म हो । फिल्ममा साम्राज्ञी, पुष्प र रेविका संगै अर्जुन श्रेष्ठ, आयुश प्रधान, बिनोद भट्टराई, सम्पदा बानियाँ लगायतका कलाकारहरुको अभिनय रहेको छ ।

गोविन्द फुयाँल र नवल नेपालको लेखन रहेको फिल्ममा अर्जुन पोखरेल, दिपक बज्राचार्य र कृष्ण काफ्लेको संगीत, संजय लामाको छायांकन, मित्र डि गुरुङको सम्पादन, प्रविन सिंह, विक्रम लामा, एन्जिला खत्रीको कोरियोग्राफी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
© 2021 Intro Nepal