नेपालमा नै पहिलोपटक चितवन मेडिकल कलेजले पीभीटी भएको बिरामीमा कलेजो प्रत्यारोपण गरेको छ । कलेजले जाजरकोटको कुशे गाउँपालिका ९ का ४७ वर्षीय भरतबिक्रम शाहीको कलेजो प्रत्यारोपण गरेको हो ।
कलेजले दोस्रो पटक ‘सी’ चरणमा पुगेको कलेजोका बिरामीको सफलतापूर्वक प्रत्यारोपण गरेको छ । कलेजले आज पत्रकार सम्मेलनको आयोजना गरी प्रत्यारोपणबारे जानकारी दिएको हो । कलेजका म्यानेजर प्रताप देवकोटाका अनुसार शाहीको असार १८ गते १५ घण्टा लगाएर कलेजेको प्रत्यारोपण गरेको हो। शाहीलाई उनको श्रीमती ४८ वर्षीय कमलादेवी शाहीले कलेजो प्रदान गरेकी हुन् । कमलादेवीको स्वास्थ्यमा सुधार भएपछि असार २७ गते नै अस्पतालबाट डिस्चार्ज गरिएको छ भने भरतबिक्रम शाहीको स्वास्थ्य अवस्था राम्रो हुँदै गईरहेको देवकोटाले जानकारी दिए ।
कलेजका विशेषज्ञ शल्य चिकित्सकहरु सर्जन डा.सञ्जयकुमार यादव, डा.एकानन्द सिंह, डा. जयन्त कुमार शाह, हेपाटोलोजी डा.सागर पौडेल, डा. बरुण श्रेष्ठ एनेस्थेसिया एण्ड क्रिटिकल केयर डा. किरण अधिकारी, डा.नविन यादव, डा. सुरेश गौतम, डा.विरेन्द्र राउत, रेडियोलोजिष्ट डा.दिपक अधिकारी डा. सुवास ओझाको टिमले प्रत्यारोपण गरेका हुन् ।
कलेजका डा.नविन यादवले अहिलेकै गतिमा सुधार भए आगामी साता भरतबिक्रमलाई समेत डिस्चार्ज गर्न सकिने अवस्था रहेको बताए । २ देखि ३ महिनामा दुबै जनामा कलेजोको अवस्थामा वृद्धि भएर ९० देखि ९५ प्रतिशत पलाएपछि दम्पतिहरुले सामान्य जीवन बिताउन सक्ने यादवले जानकारी दिए ।
काठमाडौंमा कलेजोको उपचार गराउँदै आएका शाही दुई साता अघि मात्रै चितवन मेडिकल कलेज आएका थिए ।
Comments